PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तगडा चीन, अस्तव्यस्त युरोप र अमेरिका, कोरोनाले उब्जाएको प्रश्न : अब कस्तो राजनीति र अर्थतन्त्र?



पहिलोपोस्ट

तगडा चीन, अस्तव्यस्त युरोप र अमेरिका, कोरोनाले उब्जाएको प्रश्न : अब कस्तो राजनीति र अर्थतन्त्र?
(Yaroslav Mikheev/Getty Images)

  • तेजेन भट्टराई -

सारा विश्व अहिले कोरोना भाइरसले निम्त्याएका समस्यासँग जुधिरहेको छ। विश्वका सबै देशका नागरिकहरु ढिलो चाँडो कोरोना भाइरसले निम्त्याएका स्वास्थ्य र आर्थिक समस्याको प्रत्यक्ष या अप्रत्यक्ष भुक्तभोगी भैसकेका छौँ। यस लेखमा कोरोना भाइरसले राजनीतिक/आर्थिक दर्शन र सोचमा के-कस्ता परिवर्तन ल्याउनसक्छ भन्ने चर्चा गरिनेछ।

विश्वव्यापीकरण भित्र लुकेको खतरा

पछिल्लो समयमा विश्वव्यापीकरण (ग्लोवलाइजेसन)को निकै चर्को आलोचना हुँदै आइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्लोवलाइजेसनको विरोधी मानिन्छन् भलै उनको अन्तर्राष्ट्रिय नीतिमा एकरुपता पाइँदैन – उनी आन्तरिक राजनीतिक स्वार्थ अनुसार अरु देशहरुसँग व्यवहार गर्छन्। बोरिस जोन्सन बेलायत युरोपियन युनियनबाट छुट्टिने निर्णयले प्रधानमन्त्रीको पदमा पुगेका नेता हुन्। पछिल्लो समयमा चुनाव भएका अन्य देशहरूमा ग्लोवलाइजेसन विरोधी जनमत बढेको स्पष्ट देखिन्छ। ग्लोवलाइजेसनले सम्भ्रान्त तहको मात्र पक्षपोषण गरेको र स्थानीय/आदिवासी समस्याको नजरअन्दाज गरेको आरोप छ।

चीनको एउटा शहरबाट शुरु भएको मानिएको कोरोना जुन गतिका साथ विश्वभर फैलिरहेको छ, यसले वस्तु र मानिसको अनियन्त्रित आवतजावतले ल्याउन सक्ने परिणाम उदाङ्गो पारिदिएको छ। यसले ग्लोवलाइजेसन बिरोधी स्वर अझ चर्को हुने र संरक्षणवादले बढावा पाउने सम्भावना छ। अहिले नै कोरोनासँग जोडेर अमेरिका र अन्य पश्चिमी देशहरुमा चिनियाँ र एसियाली मुलका मानिसहरुमाथि दुर्व्यवहार गरेको समाचार आउन थालिसकेका छन्। कोरोनाको यो विकराल समस्यापछि एक देशबाट अर्को देशमा सर्ने या माइग्रेसन असहज हुने, देशहरू बीचको सिमानामा कडाई हुन सक्ने बलियो सम्भावना छ।

कस्तो सरकार,कस्तो शासन प्रणाली?

पश्चिमी देशहरुमा चीनको कम्युनिष्ट शासन व्यवस्थालाई निरंकुश र स्वतन्त्रता बिरोधी भनेर आलोचना गरिन्छ। तर, कोरोनाको प्रकोप नियन्त्रणमा चीन सरकारले जुन तरिका अपनायो त्यसको विश्व स्वास्थ्य संगठनले खुलेर प्रसंशा गरेको छ। दस दिनभित्र कोरोना उपचारका लागि सयौं बेड्को अस्पताल बनाएको कुरा विश्वभर चर्चा भयो। कोरोनाको उदगम स्थल चीनमात्र अहिले कोरोनासँग लडिरहेका देशहरूलाई सहयोग गर्ने अवस्थामा छ। चीनले इटली लगायत अन्य देशहरूलाई स्वास्थ्य जनशक्ति र सामग्रीहरु सहयोग सहयोग गरिरहेको छ भने अमेरिका, इटाली, स्पेन लगायतका पश्चिमा देश आफैँमा अस्तब्यस्त छन्।

कोरोना नियन्त्रणमा चीनको सफलता र पश्चिमा देशहरुको सकसले शासन प्रणालीको बारेमा पनि नयाँ बहस शुरु हुनसक्छ। पश्चिमा देशहरूले कम्युनिष्ट शासन व्यवस्था अपनाउँछन् भन्ने होइन तर सरकारको अधिकार र भूमिकाको बारेमा धारणामा परिवर्तन आउनसक्छ। जस्तो कि अमेरिकामा सरकारको अधिकारको बारेमा मुख्यतः दुईवटा धारणा छन्- रिपब्लिकन पार्टी सरकारको न्युनतम भूमिका र नागरिकहरुको व्यापक अधिकारको वकालत गर्छ भने डेमोक्र्याटिक पार्टी सरकारको बढी हस्तक्षेपकारी भूमिकाको पक्ष लिन्छ। यस पार्टीका राष्ट्रपति पदका उम्मेदवार मध्येका एक बर्नी स्यान्डर आफूलाई समाजबादी भन्न डराउँदैनन्। उनले नियमित बीमाको लागि पैसा तिर्न नसक्ने गरीबहरुलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी राज्यले स्वास्थ्य उपचारको जिम्मा लिनुपर्ने ‘मेडिकेयर फर अल’ भन्ने नीतिको प्रस्ताव गरेका छन्। गरीब अमेरिकीहरुलाई कोरोना परीक्षण र उपचारको लागि सकस परेको र उपचारबाट कोही छुटेमा यसले धनी गरीब सबैलाई असर पार्ने भएको पृष्ठभूमिमा उनको यो नीतिले थप समर्थन पाउनसक्छ। नागरिकका केही स्वतन्त्रता कटौती गरेरै भए पनि बिपत्ति रोक्न र सामना गर्न सक्ने सरकारको आवश्यकता छ भन्ने पक्षमा जनमत बढ्न सक्छ।

अब कस्तो अर्थतन्त्र?

कोरोनाले विश्वबजारमा ठूलो हलचल ल्याइदिएको छ। प्रायः सबै देशहरुका सेयर बजारमा ठूलो गिरावट आएको छ। अमेरिका र युरोपका देशहरुमा सरकारले ठूला आर्थिक उद्दार प्याकेज ल्याएका छन्। तै पनि सेयर बजारहरुमा गिरावट रोकिएको छैन। निकट भविष्यमा आर्थिक मन्दीको सम्भावनाको आँकलन गरिँदैछ।

कोरोनाको समस्या लामो समयसम्म रहेमा एक ठाउँको उत्पादनले धेरै टाढा बजार खोज्ने र आफ्नो उपभोगका लागि विश्वको अर्को कुनाको उत्पादनमा भर पर्ने अहिलेको विश्वबजार अस्तब्यस्त हुने र उपभोग्य सामानको अभाव हुने पक्का छ। यसले स्थानीय रुपमा आत्मनिर्भरमूखी अर्थतन्त्रलाई प्रोत्साहन मिल्नेछ। आर्थिक गतिविधि ठूला बजारमा एकत्रित गर्ने प्रबृत्ति निरुत्साहित हुनेछ।

कोरोनाले पर्यटन/ सेवामा आधारित उद्योगहरु धरासायी बनेका छन्। वैदेशिक रोजगारको भविष्य पनि अनिश्चित भएको छ। यसले गर्दा कृषि पेशा सबैभन्दा दिगो र भरपर्दो व्यवसायको रुपमा देखिन आएको छ। नेपाल जस्तो देशले अर्थतन्त्रको दिगो विकासका लागि जनतालाई कृषिमा आकर्षित गर्न सक्नु पर्नेछ। कृषि कर्ममा लागेका ब्यक्तिहरु यसबाट तुलनात्मक रुपमा कम प्रभावित हुने देखिन्छन्। व्यवसायिक किसानलाई उत्पादन बजार सम्म पुर्‍याउन असहज भए पनि कम्तीमा आफ्नो उपभोगको लागि आधारभूत उत्पादन गर्ने किसानहरु मात्र हुनेछन्।

नागरिकको आर्थिक व्यवहार

यस स्तम्भकारको एकपटक एक अमेरिकी नागरिकसँग भेट हुने मौका मिलेको थियो जो आफ्नो जागिर छोडेर तथा आफ्नो कार र अपार्ट्मेन्टमा भएका सबै सामग्री बेचेर घुम्न निस्केका थिए। उनको सन्चित रकम पनि करीब सिद्धिसकेको थियो। तै पनि उनलाई प्रवाह थिएन। एक नेपालीका लागि यो अस्वभाविक थियो, उनको लागि सामान्य। अमेरिकामा मान्छेहरु प्राय ‘पे चेक टु पे चेक’ (एक तलबदेखि अर्को तलबसम्म) जिउने गर्छन। तलब हप्तैपिच्छे या दैनिक पनि लिनेदिने गरिन्छ। काम पाउन त्यति गाह्रो हुदैन - काम नपाए बेरोजगारी भत्ता पनि पाइन्छ। धेरैजसो मान्छेहरु ऋण लिएर सामान, अपार्ट्मेन्ट किन्ने र व्यवसाय सन्चालन गर्ने गर्छन्। हाम्रो जस्तो प्राय मान्छेको आफ्नै घर हुँदैन; पुर्ख्यौली सम्पत्ति प्राप्त हुने ग्यारेन्टी पनि हुँदैन। हाम्रो जस्तो संचिती गर्ने बानी हुँदैन जसले गर्दा कुनै आकस्मिक समस्या पर्‍यो भने उनीहरु छिटो समस्यामा पर्छन। कोरोना जस्तो अकल्पनीय समस्याले पश्चिमा नागरिकहरुको आर्थिक शैलीको पनि जरुर समीक्षा हुनेछ।

सारमा भन्नुपर्दा, कोरोना भाइरसको संक्रमणले हाम्रो स्वास्थ्य र आर्थिक समस्या निम्त्याएको त छँदैछ यसले हाम्रो सामाजिक, आर्थिक जीवनशैली र राजनीतिक सोचमा पनि दीर्घकालीन छाप छोड्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell