PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कोरोना संक्रमित भाग्न नदिन सरकारको पूर्वतयारी: उपचारमा सुरक्षा र स्वास्थ्यकर्मीको टोली



पहिलोपोस्ट

कोरोना संक्रमित भाग्न नदिन सरकारको पूर्वतयारी: उपचारमा सुरक्षा र स्वास्थ्यकर्मीको टोली
तस्विर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं: सरकारले सम्भावित कोरोना संक्रमितको उपचारका लागि पूर्व तयारी थालेको छ। जसअन्तर्गत स्वास्थ्यकर्मीलाई प्रोत्साहनदेखि अस्पताल, आइसोलेशन बेड बनाउनेसम्मका तयारी भइरहेको छ। यसैक्रममा आइतबारको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसबाट संक्रमित देखिएमा सुरक्षित उपचारका लागि सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली परिचालन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं अर्थ, सन्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले संक्रमित व्यक्तिको सुरक्षित उपचार तथा सो व्यक्ति अनुशासनमा नबसी भाग्दा अन्यमा सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिने बताए।

'कोही त्यस्तो सङ्क्रमित व्यक्ति भेटियो भने त्यो भाग्न, आलेटाले गर्न तथा आनाकानी गर्न नपाओस्, हुलहुज्जत नगरोस् भन्नका लागि सुरक्षा र स्वास्थ्यकर्मीसहितको टोलीले उपचार गर्ने ठाउँसम्म त्यो व्यवस्था गर्नेछ', खतिवडाले भने, 'यसमा स्वास्थ्यले गृह मन्त्रालयसँग समन्वय गर्छ।'

उपचारको पूर्वतयारी अन्तर्गत सरकारले यसअघि संघ र प्रदेशमा गरी २ सय ३५ वटा आईसीयू बेडहरु तयारी अवस्थामा राख्‍ने निर्णय गरेको थियो। १ हजारको संख्यामा आइसोलेशन बेडहरु तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य मन्त्रालयले पिपिइ सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरिद गरी प्रदेशमा पठाउँदै छ।

स्वास्थ्यकर्मीलाई ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता

यसैगरी सरकारले स्वास्थ्यकर्मीलाई प्रेरित गर्न प्रयोगशाला वा परिस्थितिअनुरुप स्वास्थ्य सेवाको ‘फ्रन्ट डेस्क’मा परिचालित हुने सबैलाई उत्प्रेरणास्वरुप ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले उनीहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सबै उपकरणहरू उपलब्ध गराएर प्रोत्साहित गर्ने जनाएको छ।

अन्तर्राष्ट्रिय नाकाबाट कुनै सङ्क्रमित व्यक्ति फेला परेमा उनीहरूलाई उपचार केन्द्रमा पुर्‍याउनका निम्ति बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सहकार्य गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह, रक्षा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको सहयोगमा पर्यटन मन्त्रालयको नेतृत्वमा सम्पूर्ण सुरक्षाकर्मीहरू समेतलाई परिचालन गरी सङ्घ, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन सेन्टरहरू राख्ने निर्णय गरेको छ। उक्त कार्यको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।

सरकारका प्रवक्ता खतिवडाले निजी क्षेत्र र सुरक्षा निकायबाट मास्क, सेनीटाइजर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने केही उपकरण उत्पादन भइरहेको बताउँदै छिमेकी मुलुक भारत र चीनबाट थप सामग्री ल्याउन पत्रचार गरेको हुँदा केही दिनमा सहज हुने जानकारी दिए। केही औषधि भारतबाट आउने सुनिश्चित भएको जानकारी दिँदै उनले औषधिको अभाव हुने अवस्था नरहेको स्पष्ट पारे।

सङ्क्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य चौकी, प्रहरी चौकी, जनप्रतिनिधिमार्फत उपचारमा जान सकिने बताउँदै उनले परीक्षण प्रयोगशाला, वीर अस्पताल, धुलिखेल र धरानमा व्यवस्था मिलाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell