
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि विभागले आफूसँग कोरोना भाइरसको परीक्षण गर्नसक्ने प्रयोगशाला (ल्याब), उपकरणहरु र जनशक्ति रहेको जानकारी दिएको छ। हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण भइरहेको छ।
सरकार अन्य ठाउँमा परीक्षणका लागि आवश्यक तयारी गरिरहेका बेला जैविक विभागले विज्ञप्ति जारी गरेर कोरोना भाइरस परीक्षण गर्न आफूसँग ल्याब, उपकरण र जनशक्ति रहेको सार्वजनिक गरेको हो।
सरकारले त्रिभुवन विश्वविद्यालयमार्फत विभागलाई अनुरोध गरे विभागबाट तुरुन्त कोरोनाको परीक्षण सुरु गर्न सक्ने र केही थप सुधार गर्नुपर्ने विभागीय प्रमुख प्राडा कृष्णदास मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा विभागको ल्याबमा थप सुधारपछि परीक्षणको रिपोर्ट ३/४ घण्टामै दिन सकिने उल्लेख छ। सुधारका लागि परीक्षण किटसहित अन्य सामान उपलब्ध गराउनुपर्ने विभागको भनाई छ।
विभागले संक्रमित संख्या बढेको अवस्थामा आफ्नो नवनिर्मित भवन प्रयोग गर्न सकिने पनि जानकारी दिएको छ।
विभागले डेंगी, हेपाटाइटिस, एप्सटिन बार जस्ता भाइरसको परीक्षण गर्दै पीएचडी/एमएसस्सी विद्यार्थीहरु पनि उत्पादन गरिसकेको छ।