PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपाली फिल्म ‘जुनुको जुत्ता’ विश्वका दुई प्रतिष्ठित फेस्टिभलमा



पहिलोपोस्ट

नेपाली फिल्म ‘जुनुको जुत्ता’ विश्वका दुई प्रतिष्ठित फेस्टिभलमा

काठमाडौं : नेपाली फिल्म ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन हुने भएको छ। प्रतिष्ठित ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ को ६६ औं संस्करणका लागि उक्त फिल्म छनौट भएको हो।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको यस फिल्म फेस्टिभलमा जर्मनी प्रतिष्पर्धा बाहेक एक सय विदेशी फिल्म छनौट गरिन्छ। यस पटक विश्वभरबाट ६५ सय फिल्महरुले आवेदन दिएका थिए। जसमध्ये ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत् ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधामा छनौट भएको हो।

एसियाबाट कुल १९ फिल्म छनौट भएका छन्।

केदार श्रेष्ठ निर्देशित छोटो फिल्म ‘जुनुको जुत्ता’ले यो वर्ष नेपालका राष्ट्रिय फिल्म महोत्सवहरुमा पनि पुरस्कृत भएको छ।

हरेक वर्ष करिव सात हजार फिल्महरुको आवेदन पर्ने गरेको फेस्टिभल ओवरहउसेनमा करिव पाँच सय फिल्म प्रदर्शन हुनेछन्। जहाँ ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्मकर्मीको जमघट हुने गरेको छ।

आउँदो मे १३ देखि १८ सम्म हुने भनिएको फेस्टिभल ओवरहउसेन कोरोना भाइरस संक्रमण रोकथामका लागि हालका लागि स्थगित गरिएको छ।

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’

त्यस्तै ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ प्रदर्शन हुने भएको छ। ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो।

बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र फिल्म महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील चलचित्रहरुको प्रदर्शन र प्रतिष्पर्धा गरिन्छ।

फेस्टिभल जुनमा हुँदैछ।

‘जुनुको जुत्ता’ जुत्ता, चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो। त्यस्तै गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको थियो।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्। विभु पौडेलले निर्माण गरेको फिल्मलाई सरुन मानन्धरले खिचेका हुन्।

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ। 

फिल्म बारे निर्देशक श्रेष्ठ भन्छन्,’ रङ्गकर्ममा र लेखनमा रमाइरहेको बेला फिल्मबाट कथा भन्ने प्रयास मैले यसै फिल्मबाट गरेको हुँ। साना नानीहरुको सम्मानार्थ यो कथा छानेको थिएँ। अहिले यही कथा विश्वप्रशिद्ध र सम्मानित महोत्सवमा छनौट हुँदै पछिल्लो साय नेपाली फिल्मले अन्तर्राष्ट्रिय जगतमा पारिरहेको प्रभावमा आफू पनि सम्मिलित हुन पाउँदा अत्यन्तै खुशी छु।‘ 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell