PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कोरोनाको डर छैन, जागिरको भर छैन : मन्त्रीलाई चुनौती दिँदै स्वास्थ्य मन्त्रालयकै गेटमा भिडभाड



प्रकाश भण्डारी

कोरोनाको डर छैन, जागिरको भर छैन : मन्त्रीलाई चुनौती दिँदै स्वास्थ्य मन्त्रालयकै गेटमा भिडभाड

काठमाडौं : सोमवार दिउँसो एक बजे पत्रकार सम्मेलनको आयोजना गरे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले। केही समय अगाडिमात्रै पत्रकारकार सम्मेलनबारे जानकारी गराइएकाले पनि संचारकर्मी हतारहतार भित्रिँदै थिए। यसरी हतारहतार मन्त्रालय जाने धेरैले गेटमा लामो लाइन देखे।

पत्रकारको भिड र मन्त्रीको प्रष्टिकरण

मन्त्रालयको सभा हलमा पत्रकारको भिड थियो, अरुबेला हुने भन्दा। सायद्, आजको पत्रकार सम्मेलन महत्वपूर्ण छ भन्ने धेरैलाई थाहा थियो।

पत्रकार सम्मेलनमा धरै पत्रकारको भिड देखेपछि मन्त्री ढकालले पटकपटक दोहोर्‍याए- भोलिदेखि हामी यसरी जम्मा हुँदैनौं। उनले अबदेखि फेसबुक मार्फत् मन्त्रालयले सबै जानकारी दिने बताए। पत्रकार सम्मेलन अरु दिनका भन्दा महत्वपूर्ण रहेछ - सरकारले पहिलोपटक औपचारिक रुपमा कोरोना भाइरसको नेपालमा संक्रमण भएको पुष्टि गर्‍यो।

कोरोनाको जानकारी दिने प्रवक्ता, जवाफ चाहिँ मन्त्रीको

१२ बजे पत्रकार सम्मेलन हुने भनिए पनि मन्त्रालयका अधिकारी र मन्त्री सवा १२ बजे सभा हलमा देखिए।

पत्रकार कुरेरै बसेका थिए। सुरुमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाबारे सरकारका निर्णय कार्यान्वयन भइरहेको जानकारी दिए। त्यसपछि सरकारले के गरिरहेको छ भन्नेबारे पनि जानकारी दिए। अन्त्यमा मात्रै सार्वजनिक गरे- नेपालमा पनि कोरोनाको बिरामी भेटिएको छ भन्ने। र, मन्त्रीलाई प्रश्नको उत्तर दिन आग्रह गरे उनले।

'रोगको किटाणु लुकाएर बहादुरी हुँदैन हामी पारदर्शी भएर सबै कुरा सार्वजनिक गर्छौ,' मन्त्री ढकालले भने।

अबको पत्रकार सम्मेलन कसरी गर्ने?

कोरोनाका कारण अब मन्त्रालयमा पत्रकार सम्मेलन नहुने भएको छ। भिडभाड कम गर्नुपर्ने भएकाले पनि मन्त्रालय यो निचोडमा पुगेको हो। मन्त्रीले सुरुमै यसबारे बताएका थिए जुन उनले पटकपटक दोहर्‍याए।

पत्रकारले मन्त्रीलाई नै प्रश्न गरेका थिए- सूचना पाउने कसरी त? मन्त्रालयका कर्मचारीले सूचना दिन आलटाल गर्छन् भन्ने पत्रकारको गुनासो।

त्यसैले हरेक दिन अपरान्ह ५ या ६ बजे मन्त्रालयले फेसबुक मार्फत् महत्वपूर्ण जानकारी दिलाए हुन्थ्यो भन्ने पत्रकारहरुको सुझाव थियो। मन्त्री ढकालले त्यही सुझावलाई समर्थन गरे।

बाहिर लाइन भित्र कोरोनाको समाचार

भित्र मन्त्री ढकाल र मन्त्रालयका कर्मचारी तथा स्वास्थ्य क्षेत्रका विज्ञको उपस्थितिमा पत्रकार सम्मेलन चलिरहेको थियो। पत्रकार सम्मेलनमा एकजना र अर्कोबीच दुरी कायम हुनुपर्ने बताइरहँदा मन्त्रालयको गेटैमा भने फरक दृष्य देखियो। निर्धक्क लाममा थिए मानिसहरु।

कोरोनाका विरामी भेटिएको सार्वजनिक गरिरहँदा गेटमा लामवद्ध उनीहरुलाई यसबारे जानकारी थिएन।

गेटको बायाँतर्फको सानो घरभित्र कर्मचारीलाई फर्म भरेर दिँदै थिए लाइनमा उभिएकाहरु।

दायाँतर्फ सुरक्षाकर्मी बस्ने ठाउमा निवेदन लेख्ने र फर्म भर्नेको भिड थियो।

प्रहरीले लाइन व्यवस्थित बनाउन खोजे पनि ठेलमठेल जारी थियो।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्री वास्तवले मन्त्रालयले अस्थायी करारका लागि नर्सको अवेदन खोलेकाले बुझाउन आउनेको भिड भएको बताए।

उनले भने, 'मन्त्रालयले अस्थायी करारमा नर्सका लागि आवेदन खोलेको छ। त्यसको लाइन हो।'

नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको घोषणापछि अति आवश्यक बाहेकका सेवामा सरकारले रोक लगाएको छ। २५ जना भन्दा बढी जम्मा नहुन पनि निर्देशन दिएको छ। तर, यही कुराको पालना भइरहेको थिएन, विभागीय मन्त्रालयकै गेटमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell