काठमाडौं : सरकारले ‘क्वारेन्टाइन स्थल’ निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ।
सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले ‘क्वारेन्टाइन स्थल’ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिएको हो। उच्चस्तरिय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर ‘क्वारेन्टाइन’ व्यवस्थापनको जिम्मा दिएको छ। सो समितिले सुरक्षा निकायहरुसँग सोमवार यसबारे छलफल गरिरहेको छ।
समितिले सोमवार विहान नेपाली सेनाका पदाधिकारीहरुलाई बोलाएर खरिपाटी क्वारेन्टाइनको अवस्था र अन्य ठाउँमा निर्माण गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी लिएको छ। छलफलमा नेपाली सेनाका कर्नेल प्रमुख सेनानी शिव प्रसाद पौडेलले क्वारेन्टाइनस्थल व्यवस्थापनका लागि केही समस्या देखिएको बताए। आर्थिक व्यवभारका विषयमा स्पष्ट निर्देशन नहुँदा आन्तरिक स्रोत परिचालन गरी नेपाली सेनाले तत्कालको समस्या टारिरहेको उनले बताए। खरिपाटीमा खाना पकाउने र सर्भिस गर्ने मान्छेको अभाव रहेको उल्लेख गर्दै उनले तीनवटै सुरक्षा निकायको टोलीले काम गरिरहेको जानकारी दिए।
खरिपाटीमा ‘क्वारेन्टाइन’मा अहिले ८ महिलासहित ८१ जना रहेका छन्। जसमा १ जना ७६ वर्षीया वृद्धा, एक गर्भवति महिला र एकजना ७१ वर्षीय विदेशी नागरिक छन्। होटल र अन्य ठाउँबाट पनि क्वारेन्टाइनका लागि कोठाहरु उपलब्ध भएको प्रस्ताव आइरहेको नेपाली सेनाले जनाएको छ। खरिपाटीमा क्वारेन्टाइनमा प्रतिव्यक्ति एक दिनमा पानी र प्याकिङ बाहेक ७५० रुपैयाँ खर्च हुँदै आएको छ।