PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कोरोनाको त्रासबीच १५ रुपैयाँको पीर ...



सहयोग रञ्जित

कोरोनाको त्रासबीच १५ रुपैयाँको पीर ...

सधैं व्यस्त रहने काठमाडौंका सडकहरुले अहिले केही आराम पाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनका कारण सरकारले आइतवारबाट अत्यावश्यक बाहेकका सरकारी र निजी सेवा बन्द गरेको छ। सोमवारबाट लामो दुरीमा सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ। यससँगै एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात संचालनमा रोक लागेको छ। यद्यपि नियम काठमाडौं उपत्यकामा भने लागू भएको छैन।

'अफिस टाइम' मा सधैंजसो भरिभराउ हुने सार्वजनिक यातायातहरु अहिले खाली छन्। जति कुदिरहेका छन् तिनमा यात्रु न्युनमात्रै छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न एउटा सरल उपाय छ, घरमै बस्ने र आफ्नो परिवारबीच पनि शारीरिक दुरी कायम गर्ने। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने। यद्यपि, सरकारी कार्यालयहरु खुल्लै छन्। बैंक, सञ्चार माध्यमलगायत अत्यावश्यक सेवा अन्तर्गत पर्ने कार्यहरु संचालन भइरहेकै छन्। केही निजी व्यवसायहरु अझै चलिरहेका छन्। त्यसैले ती सवारी साधनले केही यात्रु पाइरहेका छन्। र यात्रुबाट पाइरहेका छन् १५ रुपैयाँ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्दा अधिकांश स्थानमा न्यूनतम भाडा १५ रुपैयाँ।

बिहान बालाजु बाइपासमा माइक्रो बस चढ्ने र कार्यालय पुग्नेको भिड अहिले स्वाट्टै घटेको छ। जति यात्रु आउँछन् तिनीहरुलाई गन्तव्यमा पुर्‍याउनै पर्‍यो।

माइक्रो बसमा तेल भाडा केही भए पनि उठाउनै पर्‍यो। यसैबीच आज बालाजु चोकमा केही मानिस झोला बोकेर गाउँ फर्किने तयारीमा थिए। माइक्रो बसका सहचालकले भने,'१५ रुपैया आयो'।

गाडीका सिट खाली थियो। ४ जना यात्रु थियो बसमा। थप केही यात्रु पाएमा केही पैसा उठ्ने सहचालकको आशय। तर ती व्‍यक्तिहरु अर्को बसमा चढे। त्यो बस त झनै खाली थियो। माइक्रो बसका चालकले गाडी रोकेनन्।

'उता साहुको फोन आइसक्यो। गाडी बन्द गर भनेको के गरिराखेको तिमीहरु भनेर। धेरैले गाडी चलाउन छाडिसके। अब यो पनि बन्द हुन्‍छ।' उनले भने।

यसैबीच माइक्रो बसमा रहेका यात्रुको आफ्नै चिन्ता। माछापोखरीबाट गाडी चढेकी ती यात्रु डिपार्टमेन्ट स्टोरमा काम गर्दिरहिछिन्। स्टोर छ न्युरोडमा। तर, हाललाई स्टोर बन्द छैन। कार्यालयको समय भने घटाइएको रहेछ।

'हाम्रो पनि अब केही दिनमात्रै खुल्ला हुन्छ भनेको छ। अहिले आउन जान गाह्रो भइसक्यो' उनले भनिन्।

सोमवार काठमाडौंकै एक जनामा कोभिड-१९ पोजिटिभ देखिएको समाचार सार्वजनिक भएको छ। योसँगै अब काठमाडौं कति त्रसित हुने हो?

सुनसान बन्दै गरेको काठमाडौंमा चलेका यी सवारी साधनहरु चलाउनेहरुको रोजगार अब कति हप्तासम्म बन्द हुने हो थाहा छैन। 'साहुले आएर पैसा लिएर जाउ भनेका छन्। अब यो लटमा दुई सय पनि उठेन। यतिले त तेलको पैसा पनि उठ्दैन। साहुले कति दिने हो थाहा छैन। त्यसपछि घरमै बसिन्छ। अरु पनि घरमै बस्नु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell