PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीलाई गायक प्रकाश सपुतको खुल्ला पत्र, ‘जनता पाल्न सरकारसँग कति महिनालाई पुग्ने भकारी छ?’



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई गायक प्रकाश सपुतको खुल्ला पत्र, ‘जनता पाल्न सरकारसँग कति महिनालाई पुग्ने भकारी छ?’
फोटो : प्रकाश सपुत/फेसबुक

काठमाडौं : गायक प्रकाश सपुतले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबोधन गर्दै खुल्ला पत्र लेखेका छन्। विश्वमा भयानक रुप लिँदै गएको कोरोना भाइरस (कोभिड-१९)को सतर्कताको लागि नेपाल सरकारले गरेका प्रयासहरु सराहनीय रहेको सपुतले पत्रमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मबलसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फ्रेन्स र शुक्रवार साँझको संबोधनले व्यक्तिगत रुपमा तपाईंको सक्रियता र सरकारको ज़िम्मेवारी बोधप्रति हामी कृतज्ञ छौँ।’

सरकारले कोरोनाको संक्रमणबाट बच्न भिडभाडमा नजान आग्रह गरेसँगै आफू परिवारको साथमा गाँउको घरमा गएर ‘क्वारेन्टाइन’मा बसिरहेको उनले बताएका छन्। कोरोनाको कारण कामकाज ठप्प भएको भन्दै घरमा बसीबसी खान कहिलेसम्म पुग्छ? भन्दै उनले प्रश्न गरेका छन्।

सपुत लेख्छन्, ‘दशैँमा समेत नजुटिने हाम्रो परिवार यसपाली घर भरी भएका छौँ। एक अर्थमा मेरो बाबा, आमा र गाउँ साह्रै खुसी देखिएका छन् तर त्यो खुसी धेरै बेर रहन सकेन जब साँझ खान खाने बेला बाबाले चिन्ता व्यक्त गर्नु भयो- अब अनिश्चितकालिन बन्द भन्छन्। यसरी सबै परिवार भेला भएर बसीबसी खान कहिलेसम्म पुग्ने हो? माहोल स्तब्ध भयो। खाना खल्लो! (बाबा लामो वैदेशिक रोजगारपछि अहिले घरमा हुनुहुन्छ। मैले नै उहाँलाई ढाडस दिएको थिए- बा! तपाई बुढो हुनु भो अब विदेश नजानुस। म गर्छु।’

कोरोनाको कारण परिस्थिति यस्तै रह्यो भने हामी कति दिनसम्म पाल्न सक्छौँ, हाम्रो जनतालाई सोच्नु भएको छर? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

‘मन्त्रिपरिषद्को कोरोना भाइरस सुरक्षा सतर्कता बैठकमा के यो प्रश्न उठेको छ कि परिस्थिति यस्तै रहयो भने हामी कति दिनसम्म पाल्न सक्छौँ हाम्रो जनतालाई भनेर!’ उनी अघि लेख्छन्, ‘के सरकारले मैले जस्तै आफ्नो खाता पाता र भकारी चेक गर्यो? मैले आफूले पाल्नु पर्ने परिवारको हिसाब राखे जस्तै के सरकारले आफूले पाल्नु पर्ने नागरिकको हिसाब राखेको छ? मैले छ महिना भने जस्तै के तपाई भन्न सक्नु हुन्छ यदि भकारी नै रित्तिएर मर्ने स्थिति आयो भने सरकारसँग कति महिनालाई पुग्ने भकारी छ?’

 

कोरोनाको त्रास फैलिएसँगै काम ठप्प हुँदा दैनिक ज्याला मजदुरी गरेर खानेहरु मारमा परेको गुनासो सपुतको छ।

उनले लेखेका छन्, ‘काम ठप्पै भएपछि खल्तिमा डेड/दुईसय बचेको एउटा दैनिक मजदुरले कालोबजारी पसेर अचानक महँगिएको पसल अगाडि गएर घण्टौँ सोच्छ होला- यति पैसाले स्यानिटाइजर किनम् कि स्यानी छोरीको लागि एक गास चामल? हात धुने साबुन किनम् कि भात भिजाउने तिउन? कोरोना छेक्ने माक्स किनम् कि आँशु पुछ्ने रुमाल?’

सरकारले सहयोग नगरेको खण्डमा परिस्थिति यस्तै भइरह्यो भने आफूले सक्दो रकम सहयोग गर्ने सपुतले पत्रमा उल्लेख गरेका छन्।

उनी लेख्छन्, ‘एउटा जिम्मेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु। कहा कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषज्यूको रोहबरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु। यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ। कोरोनाको आंशकामा बिना पूर्वाधार बिरामी जाँचिरहेका ति हिम्मतिला नेपाली डाक्टर र स्वास्थ्यकर्मीका लागि २ जोर ग्लब्स र एक जोर बलियो गाउन किन्न काम लागेपनि म खुसी! सेल्फ क्वारेन्टाइनमा बस्न नपाई ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले पाउने पेन्सनमा हौसला स्वरुप कतै थोरै थपिन्छ भने पनि म खुसी।’

तर, सबै परिस्थिति र जिम्मेवारी सरकारले नै पूरा गर्ने भए उक्त रकमले सरकारको महिमामा एउटा गज्जबको गीत रेकर्ड गर्ने र बाँकी रकमले आफ्नो छोरीको शैक्षिक बिमा गर्ने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell