
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले 'कन्ट्याक्ट ट्रेसिङ' अर्थात संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि प्रोटोकल बनाउन सरकारसँग माग गरेका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट आएकी नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएको तथ्य सार्वजनिक गरेपछि सांसद थापाले 'कन्ट्याक्ट ट्रेसिङ'को प्रोटोकल बनाउन माग गरेका हुन्।
थापाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई 'कन्ट्याक्ट ट्रेसिङ'को प्रोटोकल बनाएर तयारीमा बस्न आफूले यसअघि नै सुझाव दिएको स्मरण गराउँदै अब ढिला गर्न नहुनेमा जोड दिएका छन्।
उनले ट्वीटरमार्फत फ्रान्सबाट आएकी कोरोना संक्रमित महिला चढेको जहाजका सबै यात्रु, विमानस्थल र त्यसपश्चात उनसँग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरेर प्रत्येकको तत्काल स्वास्थ्य परीक्षण गर्न पनि सरकारसँग माग गरेका छन्।
Contact tracing को प्राेटाेकल बनाएर तयारीमा बसाैं भनेको स्मरण गराउँछु।@ishwarpokhrel अब ढिला नगराैं।भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै,विमानस्थलमा र त्यस पश्चात उनीसंग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरि,अलग्गै राखि, प्रत्येक को तत्काल परिक्षण गरिहालौं।
— Gagan Thapa (@thapagk) March 23, 2020