
काठमाडौं : बनेपा नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै आज राति १० बजेदेखि नगरपालिका क्षेत्र पूर्ण रुपमा 'लकडाउन' गर्ने निर्णय गरेको छ।
काठमाडौंमा एकजना कोरोना भाइरस संक्रमित देखिएसँगै बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लक डाउन गर्ने निर्णय गरिएको हो।
नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले विज्ञप्ति जारी गर्दै लकडाउनका समयमा अत्यावश्यक अवस्थामाबाहेक नगरवासीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा, विदेशबाट आएका अपरिचित व्यक्ति देखिएमा वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न श्रेष्ठले आग्रह गरेका छन्।
नगरपालिकाले नगरवासीका लागि अत्यावश्यक परे ०११-६६१२८१ मा सम्पर्क गरी जानकारी दिन समेत आह्वान गरेको छ।
मंगलवार नगरभित्र खाद्यान्न, फलफूल, औषधी पसलबाहेक अन्य पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलले बताए।
यस्तै, लकडाउनको समयमा अरनिको राजमार्ग बाहेक नगर क्षेत्रका कुनै पनि स्थानमा निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ। सर्वदलीय बैठकले अरनिको राजमार्ग भएर संचालन हुने सवारीलाई बनेपा नगर क्षेत्रमा रोक्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए।
'नगरपालिकामा बाहिरबाट आउने कुनै सवारी साधनलाई नगर क्षेत्रभित्र रोक्न पाउने छैन। अरनिको राजमार्गसहित अन्तर नगर सवारी साधन संचालनमा रोक लाग्ने छैन। तर, हाम्रो नगर क्षेत्रभित्र ती गाडी रोक्न पाउँदैनन्।'
उनले हाललाई कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन यस्तो निर्णय लिएको भन्दै भने, 'भिड नियन्त्रण भएन भने हामी थप कदम चाल्नेछौं। हाललाई हामीले सबैले घरभित्र बस्न भनेका छौं।'