PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

गोकर्णेश्वर नगरपालिकाले गठन गर्‍यो ‘क्विक रेस्पोन्स टिम’ : कोरोना विशेष अस्थायी अस्पताल बन्दै



पहिलोपोस्ट

गोकर्णेश्वर नगरपालिकाले गठन गर्‍यो ‘क्विक रेस्पोन्स टिम’ : कोरोना विशेष अस्थायी अस्पताल बन्दै

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै नगरस्तरीय सतर्कता अभियान सुरु गरेको छ। विपद् व्यवस्थापन समितिले ‘क्विक रेस्पोन्स टिम’ स्थापना गरी विश्वव्यापी रुपमा फैलिएको भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणमा पहल थालेको हो।

यसै अभियान अन्तर्गत् गोकर्णेश्वर वडा नम्बर ५ मा कोरोना विशेष अस्थायी अस्पताल बन्ने भएको छ। सञ्चालनको तयारीमा रहेको अस्पताललाई कोरोना भाइरस संक्रमण विशेष जाँच र उपचारका लागि प्रयोगमा ल्याइन लागेको हो।

उक्त अस्पतालमा आइसियू र भेन्टिलेटरसहित २० शैय्या रहनेछ। सोमवार अमेरिका नेपाल मेडिकल फाउन्डेसनले उक्त अस्पतालका स्वास्थ्यकर्मीलाई पाँच थान सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इन्स्ट्रुमेन्ट) प्रदान गर्ने बताएको छ। सुरक्षा उपकरण आइपुगेका लगत्तै अस्पताले सेवा शुरु गर्ने नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए।

'उचित सुरक्षा व्यवस्थापन बिना संकास्पद् बिरामीको समेत जाँच तथा उपचार कठिन छ। आम मानिस साथ साथै स्वास्थ्यकर्मीको सुरक्षा हाम्रो प्राथमिकता भएकाले आवश्यक तयारी पूरा गरेर मात्र सेवा शुरु गर्ने निर्णय लिएका हौं,‘ मेयर चालिसेले भने।

साथै गोकर्णेश्वर नगरपालिकाको ‘क्विक रेस्पोन्स टिम’ले एम्बुलेन्स तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने तथा सामुदायिक भवनहरुमा क्वारेन्टाइन स्थापना गर्ने पहल समेत थालेको छ।

मेयर चालिसेले नगरपालिकाको पहलमा साथ दिन जनतालाई आग्रह गरेका छन्।

'कोरोना भाइरसविरुद्ध लड्न हामी सबै मिलेर लाग्नु पर्छ। यस्तोमा अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्किए र सामूहिक जमघट नगरे पनि ठूलो सहयोग हुन्छ,‘ उनले भने।

कोरोना भाइरसको त्रास देखाइ दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना नगरियोस् तथा कालोबजारी नहोस् भन्ने हेतुले स्थानीय बजार अनुगमन समेत भइरहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजिव थापाले बताए।

वडा नम्बर ९ मा सोमवारदेखि दैनिक जीवनयापनका लागि अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सेवा प्रदायक पसल तथा व्यवसायहरु बन्द गरेको समेत जानकारी दिए। वडामा चैत २१ गतेसम्मका लागि सामूहिक जमघट र कार्यक्रमहरु निषेध गरिएको छ। वडाध्यक्ष थापाले भने, ’जनस्वास्थ्य र सुरक्षाका लागि हामीले आवश्यक कदम चालेका छौं। कोरोना रोकथाम रयस बारे सचेतनाका लागि माइकिङ र सामाजिक सञ्जालमार्फत् सूचना प्रवाह गरिरहेका छौं।‘ 

थापाले यस विपदको अवस्थामा नगरवासीले ‘सेल्फ आइसोलेसन’मा जोड दिनुपर्ने बताए।

उनका अनुसार नगरपालिकाका नौ वटा वडालाई कोरोना भाइरसका कारण निम्तन सक्ने अभाव व्यवस्थापनका लागिएक-एक लाख रुपैयाँ समेत उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाले स्थानीय अस्पतालहरु नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको समन्वयनमा आइसोलेसन हेल्प डेस्क समेत सञ्चालनमा ल्याउने तयारी थालेको छ।

त्यस्तै कोरोना सम्बन्धी मेडिकल जानकारी, सल्लाह सुझावका लागि पाँच जना स्थानीय डाक्टरहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ। सेवाका लागि नगरपालिकासँग समन्वय गरेका डाक्टर सुवास प्याकुरेलले भने, ’जनस्वास्थ्यका लागि गोकर्णेश्वर नगरपालिकाले चालेको कदम सहारनीय छ। हामी स्थानीयको सेवा र सहयोगका लागि सधैं तयार छौं।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell