PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतको नाकाबाट रोकिए मानिस, रोकिएनन् मालबाहक ट्रक, ट्याङ्कर र ग्यासका बुलेट



खेमराज श्रेष्ठ

भारतको नाकाबाट रोकिए मानिस, रोकिएनन् मालबाहक ट्रक, ट्याङ्कर र ग्यासका बुलेट

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले एक साताका लागि भारतबाट मानिस आवतजावत बन्द गरेपनि मालवाहक सामान आयातमा कुनै समस्या देखिएको छैन।

मुलुकका विभिन्न भन्सार नाकाबाट निर्वाध रुपमा सामान बोकेका ट्रकहरु आइरहेका छन्। भारतबाट पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका वस्तु आयात भएको छ। सोमबार रक्सौंलमा पेट्रोलियम पदार्थ लिन गएका ट्यांकर नेपाल आउन थालेका छन्।

औद्योगिक कच्चा पदार्थ र लत्ता कपडा भने धेरैनै कम आएको भन्सार अधिकारीहरुले बताएका छन्। वीरगंज भन्सारका प्रशासक ढुण्डीप्रसाद निरौलाले सामान आयात निर्वाध भइरहेको बताए। उनका अनुसार भन्सार कार्यालयलाई अत्यावश्यक सामाग्री दुई घण्टाभित्र छुटाउन निर्देशन दिएपनि १५ मिनेटमै जाँचपास भइरहेको छ। निरौलाले अहिले २५ प्रतिशत मात्रै सामान नेपाल भित्रिएको बताउँदै ट्रकका चालकको चेकजाँच गरिएको जानकारी दिए।

उनका अनुसार क्वारेनटाइनमा उच्च सतर्कता अपनाइएको छ। यसैगरी कृष्णनगर भन्सार कार्यालयबाट औद्योगिक कच्चापदार्थको आयात घटेको छ। उद्योगमा प्रयोग गरिने कोइला, फलाम लगायत कच्चा पदार्थको आयात घटेको छ।  दैनिक उपभोग्य सामाग्रीहरु, चामल, दाल, तरकारी फलफुल निर्वाध रुपमा आइरहेको प्रमुख भन्सार अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनले भने-'हामीले कर्मचारीलाई उच्च सतर्कता अपनाउन भनेका छौं। नयाँ फाइल छुनेवित्तिकै स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छौं।' यस्तै वीरगंजको सुख्खा भन्सार कार्यालयबाट पनि सामान आयात भइरहेको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए। उनका अनुसार अन्य समय भन्दा २० प्रतिशत मात्रै सामान आयात भएका छन्। यो नाकाबाट फलाम, तोरी, केराउ, मरिच लगायत सामाग्रीहरु आयात भइरहेका छन्।

यस्तै नेपालगंज भन्सार नाकाबाट व्यासायीहरुले थप सामाग्रीहरु ल्याउन छाडेका छन्। पहिलेकै सामाग्रीहरुको भन्सार चेकजाँच भइरहेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए। उनका अनुसार अहिले पहिलानै आयात भएको मेसिनरी सामाग्री जाँचपासको काम भइरहेको छ।

सुनसान बन्यो पशुपति भन्सार

नेपाली हरियो तरकारी निर्यात हुने पशुपति भन्सार नाका यतिबेला सुनसान देखिएको छ। भन्सार अधिकृत गजेन्द्र भट्टराईले नाकाबाट तरकारी निकासी हुन छाडेको बताए। उनका अनुसार आयात पनि ठप्प छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell