काठमाडौं : इन्धन सकिन लाग्यो भन्दै विमान त्रिभुवन विमानस्थलमा सोमबार साँझ अवतरण गरेको इत्तिहाद ए ३२० विमानमा रहेका दुई नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा लगिएको हो।
कोरोना संक्रमण भएपछि नेपालले विदेशमा रहेका नेपालीलाई पनि ल्याउन निषेध गरिसकेको छ। यसअघि सिंगापुरको सिल्क एयरबाट भित्रिएका ३ नेपालीका कारण विमानस्थलमा हंगामा भएपछि उनीहरुलाई पनि क्वारेन्टाइनमा लगिएको हो।
अबुधावीबाट उडेको विमानमा तीन नेपाली पनि छन् भन्ने थाहा भएपछि विमानलाई फर्काउन निर्देशन दिइएको थियो। विमान नेपाली आकाशमा लगातार फन्को लगाइरह्यो। त्रिभुवन विमानस्थल भन्दा बाहिर अल्टरनेट ल्यान्ड गर्ने ठाउँ मिलेन भन्दै विमान चालकले इन्धन सकिन लागेको जानकारी गराएपछि वाध्य भएर आकाशमा फन्को लगाइरहेको विमानलाई ल्यान्ड गर्न दिइएको छ।
विमान सोमबार नै फर्किसकेको छ। त्यस्तै शनिवार थाइ एयर र इन्डियन एयरलाइन्सबाट आएका नेपालीहरुलाई पनि खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ।
सरकारले १० गते रातिबाट सबै अन्तराष्ट्रिय उडान बन्द गरिसकेको छ। भने आजबाट देशभर लकडाउन घोषणा गरेको छ।