PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतमा एकै दिन ९९ जनामा कोरोनाको संक्रमण, दुईको मृत्यु : नेपालसँग जोडिएको पश्चिम वंगालमा एकको गयो ज्यान



पहिलोपोस्ट

भारतमा एकै दिन ९९ जनामा कोरोनाको संक्रमण, दुईको मृत्यु : नेपालसँग जोडिएको पश्चिम वंगालमा एकको गयो ज्यान
भारतमा सबैभन्दा पहिले पहिचान भएको कोरोना भाइरस। जनवरी ३० मा केरलामा यसबाट पीडित भेटिएका थिए। फोटो : पिटिआई

नयाँ दिल्ली : कोभिड १९ पोजेटिभको संख्या एकै दिन ९९ जना थपिएपछि भारतमा यसबाट पीडित हुने ५ सयको नजिक पुगेका छन्। सोमबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ४ सय ९८ पुगिसकेको छ। दुई जना कोरोना पीडितको पनि हिजै मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार यी दुई सहित भारतमा कोरोनाको कहरबाट मर्नेको संख्या ९ पुगेको छ।

भारतमा पछिल्ला तीन दिनमा मात्रै २ सय ४६ केसहरु सतहमा आएका छन्। अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेका छन्। बाँकी भारतीयमा नै संक्रमण देखिएको हो। भारतमा संक्रमितको संख्या बढ्नुको अर्थ हो, नेपालमा कोरोनाको जोखिम सम्भावना थप हुनु।

भारतमा कोरोनाको संक्रमणको यिनै दुखद् पक्षसँगै सुखद् समाचार पनि छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३५ जना कोरोना संक्रमित विरामी ठीक भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

सोमवार मृत्यु भएका दुई भारतीय मध्ये एक पश्चिम वंगला र एक हिमांचल प्रदेशका रहेका छन्। पश्चिम वंगाल नेपालसँगै जोडिएको भारतीय राज्य हो। भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएकाले संक्रमण तीब्र गतिमा फैलिने सम्भावना बढेको हो।

भारतको गुजरातमा थप १२ केस देखिएको छ। यो राज्य भारतको कोरोनाका लागि अर्को हट स्पट बनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell