
काठमाडौं : सरकारले आजदेखि लागू हुने गरी सिंगो देशमा लकडाउन घोषणा गरेपछि गएको मध्यरात सम्म खाद्यान्न पसलहरुमा मानिसको भिड लाग्यो। नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिको पहिचान भएलगत्तै सरकारले लकडाउनको निर्णय गर्यो जसमा प्रष्टसँग भनिएको छ - खाद्यान्न लिनका लागि रोक लगाइने छैन।
तर, लकडाउन भन्नसाथ काठमाडौंको भाटभटेनी, बिगमार्ट, सेलवेज लगायतका स्टोरहरुमा मानिसको चाप ह्वात्तै बढ्यो। ती सबै स्टोर तोकिएको अबधिभन्दा पछिसम्म नखुल्ने भएकाले त्यसपछि मानिसहरुको चाप रह्यो आफ्नो नजिकै रहेका खाद्यान्न पसलहरुमा। भाटभटेनी लगायतका स्टोरमा खाद्यान्न रहे पनि तरकारी लगायतका 'आइटम' सिनित्तै भएका थिए।
हाम्रा सहकर्मी विज्ञान अधिकारीका अनुसार कतिपय खाद्यान्न पसलहरुमा मानिसको भिड बढेपछि प्रहरीले नै सम्झाउन परेको थियो। 'भोलि खाद्यान्न किन्न कुनै रोक हुँदैन। आज भिड नगर्नुस्,' खाद्यान्न पसलमा पुगेका प्रहरीलाई उदृत गर्दै अधिकारीले भने। प्रहरीले सबै ठाउँमा हटाउन भने सकेन। किनभने मानिसमा आजदेखि हुने लक डाउनको त्रास थियो।
'नौ बजेसम्म पनि मानिसहरु भाटभटेनीमा गइरहेको देखिन्थ्यो तर सुरक्षा गार्डहरुले बन्द हुने समय सकिएको भन्दै उनीहरुलाई प्रवेश दिएका थिएनन्,' हाम्रा अर्का सहकर्मी सविन ढकालले बजारको अवस्थाबारे जानकारी दिए।
कमलपोखरी, मैतीदेवी, मित्रपार्क, चाबहिल, कलंकी, ग्वार्को, बालाजु, नक्साल, कोटेश्वर लगायतका चोकमा रहेका खाद्यान्न पसलमा १० बजेसम्म मानिसहरुको चहलपहल देखिएको थियो। कमलपोखरी चोकमा त मानिसहरु गाडी लिएर नै खाद्यान्न लिन पुगेका थिए।
'भोलि के हुन्छ भन्ने ठेगान छैन, अलिकति जोहो नगरी भएन,' बजारमा पुग्ने जो कसैले पनि यस्तै अभिव्यक्ति दिएको सुनिन्थ्यो।