
दुवई : सोमबारमात्रै संयुक्त अरब इमिरेटस (युएई)मा थप ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिँदा नेपालीहरुलाई भने थोरै भए पनि सन्तोष मिल्न खबर प्राप्त भएको छ। युएईमा कोरोनाबाट संक्रमित भएका दुई नेपाली स्वस्थ भएर फर्केको गल्फ न्युजले जनाएको छ।
एकै दिन युएईमा सबैभन्दा धेरैमा संक्रमण देखिएको हो। यहाँ अहिलेसम्म १ सय ९८ जनामा कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका निर्देशक डाक्टर फरिदा अल होसनीले दिएको जानकारी अनुसार विदेशबाट फर्किएका एकजनाले होम क्वारेन्टाइनमा पालना गर्नुपर्ने नियमलाई वेवास्ता गर्दा उनीमार्फत् १७ जना कोरोनाबाट संक्रमित हुन पुगेका छन्। उनकै परिवार र आफन्तहरुमा संक्रमण हुन पुगेको हो।
नयाँ भेटिएका संक्रमितहरुमा फिलिपिन्स, इराक, ट्युनेसिया, सिरिया, कुवेत, इटली, पेरु, इथोपिया, लेबनान, सोमालिया, बेलायती, स्विडेन, इजिप्ट, आयरल्यान्ड, रसिया, मोन्टेग्रो, फ्रान्स र पोल्यान्डका नागरिक पनि रहेका छन्। यो सूचीमा नेपालीको नाम भने छैन। तर, युएईमा धेरैको संख्यामा नेपाली कामदार रहँदै आएका छन्।
तर, यही सूचीमा दुई क्यानडाका, तीन वंगलादेशी, चार/चार पाकिस्तानी/अमरिकी, सात/सात इमिरेट्सका र भारतीय रहेका छन्।
सबै संक्रमितको अवस्था स्थिर रहेको र उनीहरुको उपचार भइरहेको समाचारमा उल्लेख छ। यसैबीच मन्त्रालयका प्रवक्ताले तीन थप कोरोना संक्रमित ठीक भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। तीनमा एक जना इरानी नागरिक छन् भने बाँकी दुई नेपालीहरु रहेका छन्। अहिलेसम्म यी सबैगरी ४१ जना संक्रमणबाट मुक्त भएर फर्किएका छन्।