PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अझै अटेरी हामी, लकडाउनमा मर्निङ वाकमा जनता

अझै अटेरी हामी, लकडाउनमा मर्निङ वाकमा जनता

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने भन्दै सरकारले देशभर आज बिहानबाट लकडाउन घोषणा गरेको छ। जसअनुरुप नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएका छन्।

भाइरसबाट भयावह स्थिति आउने सक्ने भन्दै बिहान ६ बजेबाट लक डाउन घोषणा गरिए पनि मानिसहरु शहरबजारमा हिँडिरहेका छन्। पार्कहरुमा मर्निङ वाकमा पुगिरहेका छन्। सवारी साधन र साइकल गुडिरहेका छन्।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीय युवतीमा भाइरसको संक्रमण देखिएसँगै सरकारले लकडाउनको घोषणा गरेको हो। नेपालमा एक जना करिब दुई महिना अघि नै भाइरसको संक्रमण देखिएको थियो। त्यही बेला नै सरकारलाई सीमा र हवाई आवागमन गर्न माग गरिएको थियो। तर सरकारले त्यसो गरेन। यो बेलासम्म युरोपका देशहरुले र अमेरिका भाइरस चीनमा मात्रै फैलिरहेको भन्दै पर्याप्त कदम चालेनन्। पछि यस भाइरसबाट सबैभन्दा धेरै प्रभावित यीनै युरोपियन र अमेरिका भयो।

हाल युरोपका अधिकांश देश लकडाउनमा छन्। अमेरिकाका कयौं राज्यहरु लकडाउनमा छन्। ती देशका सरकारले आफ्नो नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ। निर्देशन उल्लंघन गर्नेलाई पक्राउ गर्ने र आइसोलेसनमा पठाउने काम समेत भएको छ। श्रीलंकाले भाइरसबाट जुध्न जारी गरेको कर्फ्यू तोड्ने ३०० भन्दा बढीलाई त पक्राउ नै गरेको छ। भाइरसबाट आक्रान्त बनेको भारतमा समेत कयौं राज्यहरुमा लकडाउन गरिएको छ।

यो भाइरसको संक्रमण मानिसबाट मानिसबीच फैलिने हुँदा पनि हाललाई सामाजिक र शारीरिक दुरी कामयम गर्नु नै हो। त्यसैले सरकारले सबैलाई आफ्नो घरभित्रै बस्न आग्रह गरेको हो। यदि सरकारको आग्रहलाई अटेरी गर्दै सबै यसरी नै खुल्ला हिँडिरहने हो त्यसले असर नेपाली समाजमा नै गर्ने हो। एकजनामा भाइरसको संक्रमण पुष्टि भएपछि उ सँग सम्पर्कमा आएका व्यक्तिमा भाइरसको संक्रमण भएको हुन सक्छ। ती व्यक्तिबाट पनि अरुमा भाइरस फैलिन सक्छ।

त्यसैले अटेर नगरौं। घरै बसौं।



ट्रेन्डिङ पोस्ट

Ncell