
काठमाडौं : फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित किशोरी चढेकै जहाजमा आएका युवा बस चढेर काठमाडौंबाट बागलुङ पुगेको पाइएको छ।
वैदेशिक रोजगारीका लागि कतारमा रहेका २४ वर्षका युवा संक्रमित किशोरीसँगै कतारबाट एउटै प्लेनमा नेपाल आएका थिए।
चैत ४ गते काठमाडौं पुगेका उनी बस चढेर बागलुङ गएका हुन्। उनी ५ गते आफ्नो घर बागलुङ पुगेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए।
बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि मेयरसहित चिकित्सकको टोली आज विहान त्यसतर्फ लागेको थियो। मेयर नेपालीले उनी अहिले स्वस्थ रहेकाले परिवारको जिम्मा लगाइएको बताए।
संक्रमित किशोरीसँगै आएका उनको गाउँमा दुई वटा घर भएको र उनलाई अलग्गै घरमा सेल्फ क्वारेन्टाइनमा राखिएको मेयर नेपालीले जानकारी दिए।
'हामी उनको घरमै गयौं। उनी हष्टपुष्ट नै छन्। उनमा कुनै त्यस्तो लक्षण देखिएको छैन। त्यसैले उनलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ', मेयर नेपालीले भने।
उनी अहिले स्वस्थ भएकाले थप परीक्षण नगरेको मेयर नेपालीको तर्क छ। उनले भने, 'वडाध्यक्षको प्रत्यक्ष निगरानीमा सेल्फ क्वारेन्टाइनमा राखिएको हो। उनलाई कुनै लक्षण देखिए अस्पताल भर्ना गर्छौ।'
संक्रमित किशोरीसँगै आएका ती युवा सुरुदेखि परिवारमा सँगै बसिरेहका थिए। मेयर नेपालीले उनलाई परीक्षण गर्नुपरे प्रदेश सरकारको समन्वयमा पोखरा लगेर परीक्षण गरिने बताए।
चैत ४ गते फ्रान्सबाट फर्किएकी काठमाडौं घर भएकी किशोरीमा कोरोना संक्रमण देखिएको थियो। सँगै आएकी भियतनामकी साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनी स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्।
उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्।