PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘लकडाउन’मा सुनसान विराटनगर : खाद्यान्न र तरकारी बजार कतै बन्द, कतै खुला



अनन्तराज न्यौपाने

‘लकडाउन’मा सुनसान विराटनगर : खाद्यान्न र तरकारी बजार कतै बन्द, कतै खुला

विराटनगर : कोरोना भाइरसको सम्भावित संक्रमणको राकथामका लागि सरकारले देशभर ‘लकडाउन’को घोषणा गरेसँगै प्रहरीले बन्द गर्न आदेश दिएपछि विराटनगरको भाटभटेनी स्टोरको ग्रोसरी मंगलवार बिहानदेखि नै बन्द भएको छ। सेन्ट्रल मल र आरके सिटी सेन्टरको खाद्यान्न विभाग भने चलिरहेका छन्।

प्रहरी गस्तीका अधिकारीले सेन्ट्रल मल र आरके सिटी सेन्टर पनि बन्द गर्न आदेश दिएका थिए तर व्यवसायीले खाद्यान्न बन्द गर्न आवश्यक नभएको सरकारी सूचना देखाए। विराटनगरमा प्रहरी गस्तीले यहाँको खाद्यान्नको मुख्य बजार गुद्री पनि बन्द गराएको छ। प्रहरीको आदेशका कारणले नै गुद्रीको तरकारी बजार पनि बन्द भएको छ। विराटनगरको मेनरोड र यहाँको बजार सुनसान छ।

मुख्य बजार सुनसान भए पनि महानगरका भित्री टोलका पसलहरू आधा सटर बन्द गरेर सञ्चालनमा छन्। प्रहरी गस्तीले खाद्यान्नको बजारसमेत बन्द गराएकोमा व्यवसायीले विरोध जनाएका छन्। मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले मानव जीवनका लागि अत्यावश्यक मानिएको खाद्यान्न तरकारीका पसलहरू सुरक्षित तवरले सञ्चालन गराउन आग्रह गरे।

‘प्रहरी गस्तीले अमानवीय काम गरेको छ’, उद्योगी शारडाले भने, ‘सुरक्षित हिसाबले पसल गर्न सिकाउनु पर्थ्यो। तर, डन्डाका भरमा खाद्यान्न र तरकारीका पसल बन्द गराइएको छ।’

उनले बिहान ७ देखि १० र बेलुका ४ देखि ७ बजेसम्म खाद्यान्न, तरकारी, दूध र फलफुलका पसल खोलाएर बाँकी अवधि बन्द गराउन माग गरे।

मोरङ प्रहरीका एसपी विश्व अधिकारीले प्रहरीले बलपूर्वक कतै बन्द नगराएको बरु अनुरोध गरेको जिकिर गरे।

‘हाम्रो गस्तीले सम्झाएको सम्म हो’, एसपी अधिकारीले भने, ‘कतै जबर्जस्ती र बल प्रयोग गरेका छैनौँ।’

उद्योग आवश्यकता अनुसार 

व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले खाद्यान्न, साबुन, बिस्कुट, मैदा, चाउचाउ र खानेतेलका उद्योगहरू भने आवश्यकता अनुसार सञ्चालन भइरहेको जानकारी दिए।

अध्यक्ष मुन्दडाले भने, ‘बजारमा डिलर र होलसेलरले माग गरेअनुसार कुनै उद्योग चलेका छन्, कुनै छैनन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell