PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपालले कोरोनासँग लड्न कोरियासँग सिक्ने कि इटालीको पदचाप पहिल्याउने?



विधुर ढकाल

नेपालले कोरोनासँग लड्न कोरियासँग सिक्ने कि इटालीको पदचाप पहिल्याउने?

काठमाडौं : दक्षिण कोरियामा सोमवार फेब्रुअरी २९ यता कोभिड-१९ को सबै भन्दा कम संक्रमण प्रमाणित भयो। त्यसयता दैनिकजसो संक्रमणको ग्राफ बढिरहेको थियो। एसियामा चीन पछि धेरै संक्रमितको ग्राफमा कोरिया थियो।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमवार ६४ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक गर्दा त्यहाँ ८ हजार ९ सय ६१ जनामा संक्रमण देखिएको छ। सोमवार मृतकको संख्या ८ जना थपिँदै १ सय १० पुगेको छ।

कोरियाली अधिकारीहरुले ठूलो सतर्कताका बावजुद पनि नर्सिङ होम, चर्च तथा भिडभाड हुने क्षेत्रमा इम्पोर्टेड केस तथा नयाँ संक्रमण देखिएका छन्।

'हामीले अहिले संख्यालाई ध्यान दिइरहेका छैनौं। तर, पनि पछिल्लो ट्रेन्डमा केही थपघट भइरहेको छ। हाम्रो प्राथमिकता भनेको संक्रमित समूहमा हुनसक्ने संक्रमणलाई रोक्नु हो,' कोरियाको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य नीतिका महासचिव योन ताइ होले भनेका छन्।

सोमवार देखिएका नयाँ संक्रमितमध्ये १३ जना विदेशबाट यात्रा गरेर आएका छन्। उनीहरुलाई सरकारले कोरिया छिर्नासाथ स्वास्थ्य परीक्षण गरी दुई साताको अनिवार्य क्वारेन्टाइनमा राखेको थियो।

दक्षिण कोरियाले १५ दिन लामो सामाजिक दुरी कायम गर्ने नीतिलाई कडाइका साथ लागू गरेको छ। यहाँ धार्मिक, खेलकुद तथा मनोरन्जनका क्षेत्रमा हुने जमघटलाई पूर्ण रुपमा बन्द गरिएको छ।

युनका अनुसार अधिकांश धार्मिक स्थलहरु अनलाइन सेवाबाट सञ्चालन भइरहेका छन्।

तर, शोलको एक चर्चमा सरकारको निर्देशनको अवज्ञा भयो। त्यसलाई प्रहरी अधिकारीहरुले नियन्त्रण गर्दै सामाजिक रुपमै अक्षम्य भनेका छन्।

आइतवार चर्चले आफ्नो नियमित काम गरेसँगै शोलका मेयर पार्क ओन सुनले दुई साताका लागि चर्च बन्द गराएको बताएका छन्। चर्चमा दुई हजार बढी मानिसहरु बिना मास्क प्रार्थनामा बसेका थिए।

चर्चमा को को पुगेका थिए भन्ने तथ्यांक पनि राखिएको थिएन। कोरियाका प्रधानमन्त्रीले चर्चको गतिविधि स्वास्थ्य सुरक्षामा चुनौती भएको बताएका छन्।

'यो एउटा सुरक्षामा गम्भीर चुनौती हो। यसले सहभागीको मात्र नभइ सम्पूर्ण समुदायको सुरक्षामा चुनौती थपेको छ,' दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सिइ क्युनले भनेका छन्, 'हामी राज्यको आपतकालमा छौँ जुन एउटा युद्ध जस्तै हो। प्रशासकीय अदेशलाई खाली चुनौतीका रुपमा लिनुहुँदैन।'

दक्षिण कोरियाले तीब्र रुपमा कोरोना भाइरसको परीक्षण अगाडि बढाएको छ। सबै नागरिकलाई नि: शुल्क परीक्षण अभियान नै छेडेको छ। यो नै कोरियाको कोभिड-१९ नियन्त्रणको मुख्य हतियार बन्यो। शोलले अन्य देशहरुलाई पनि एउटा उदाहरण प्रस्तुत गरेको छ।

संयुक्त राज्य अमेरिकाले अझै भाइरसको परीक्षणलाई संस्थागत गर्न सकिरहेको छैन जहाँकि कोरियाले गरिसकेको छ। त्यति मात्र होइन, उसले कसरी प्रभावकारी परीक्षणलाई अगाडि बढाउन सकिन्छ भनेर बाँकी विश्वलाई देखाइसकेको छ।

त्यहाँको सरकारले घुम्ती परीक्षण केन्द्र सञ्चालन गरिरहेको छ। त्यस्तै एक घुम्ती शिविरमा परीक्षणका लागि पुगेका ट्याक्सी चालकले एक स्वतन्त्र गैरनाफामुलक सञ्चार संस्था एनपीआरसँग भनेका छन्, 'सार्वजनिक स्वास्थ्य केन्द्रहरुमा भिडभाड हुन्छ। त्यतिमात्र होइन त्यहाँ संक्रमण सर्ने सम्भावना पनि हुन्छ। यहाँ आफ्नै कारभित्र परीक्षण गर्न पाइन्छ। यो सुरक्षित र प्रभावकारी छ।'

त्यहाँको सरकारले प्रविधिको प्रयोग गर्दै आफ्ना नागरिकहरुलाई सिसिटिभी, बैंक कार्ड, मोबाइल प्रयोग लगायतका उपकरणबाट निगरानी बढाइरहेको छ। स्वतन्त्रता भएको मुलुकमा यस्तो निगरानी असामान्य हो तर पनि कोरियाले यसलाई महामारी नियन्त्रणको लागि हतियार बनाएको छ।

दक्षिण कोरियाको रणनीति सामान्य नै छ। परीक्षण, परीक्षण र थप केही परीक्षण। कोरियाले सन् २०१५ मा आउटब्रेक भएको मर्सबाट रोग पहिचान र नियन्त्रण पद्दतीलाई पहिचान र व्यवस्थित गरेको थियो।

त्यहाँ ठूलो उत्पादन क्षमताका वायोटेक उद्योगहरु छन् जसमा धेरै परिमाणमा किट उत्पादन गर्न सकिन्छ। हाल दक्षिण कोरियाले प्रति दिन १५ हजार जनाको कोभिड-१९ परीक्षण गरिरहेको छ। यो परीक्षण संख्या चीनपछि दोस्रो हो।

यदि कोही संक्रमित भइहाल्यो भने उसको सम्पर्कमा रहेका व्यक्तिहरुलाई तत्काल ट्र्याक गरी परीक्षण गरिएको छ। त्यसका लागि पहिलो चरणमा क्रेडिड कार्ड वा डेबिड कार्डको प्रयोगलाई ट्र्याक गर्दै उनीहरु समक्ष पुगिन्छ। दोस्रो मोबाइल फोनको ट्र्याकिङ। त्यतिले मात्र पुगेन भने सिसिटिभी ट्र्याकिङ गरेर सम्पर्क गरिँदै आएको छ।

२०१४ को तथ्यांकअनुसार दक्षिण कोरियामा ८० लाख वटा सिसिटिभी क्यामरा जडान गरिएको छ। प्रति क्यामेरा ६.३ व्यक्ति पर्छन्, त्यहाँको जनसंख्याको आधारमा। सन् २०१० मा प्रत्येक व्यक्ति एक दिनमा ८३.१ पटक क्यामेरामा कैद भएका थिए। र, हरेक ९ सेकेन्डमा उनीहरु यसरी क्यामरामा कैद भएका थिए। यसले पनि कोरियामा ट्र्याक गर्न सहज भयो। हाल यस्ता क्यामराको संख्या थपिँदै गएको छ। यस्ता प्रविधिको प्रयोगका दुईवटा अर्थ छन्। पहिलो त स्वास्थ्य अधिकारीहरुले संक्रमित व्यक्तिसँग नजिक रहेका व्यक्तिलाई पत्ता लगाउन सक्छन्। दोस्रो कुरा, नयाँ विरामीको पहिचानसँगै उनीहरु भौगोलिक अवस्थितिको पनि पहिचान हुन्छ। यसलेबाट नयाँ संक्रमित कुन व्यक्तिबाट संक्रमित भएको हो थहा पाउन सकिन्छ। साथै पहिलेको संक्रमितलाई पनि पहिचान गर्न सकिन्छ।

यस्तो ट्र्याकिङ स्वास्थ्य अधिकारीले मात्र गरिरहेका छैनन्। त्यहाँका सर्वसाधारणलाई पनि यस्तो ट्र्याकिङ गर्न सक्ने सुविधा दिइएको छ। केन्द्रीय तथा स्थानीय सरकारका वेबसाइट तथा नि:शुल्क मोबाइल एपबाट सर्वसाधारणले पनि नयाँ संक्रमितको बारेमा सूचना दिन सक्छन्।

धेरै कुरामा मानिसहरुको निजी सूचना बाहिरिन सक्ला तर यहाँ यो नै जनताको विश्वाश जित्ने माध्यम बनेको छ। यसले जनतामा त्रासलाई कम गरेको छ। यसबाट पनि हामीले तर्क गर्न सक्छौँ कि दक्षिण कोरिया यस्तो देश हो जहाँ कोभिड-१९ को आउटब्रेक पछि पनि त्यहाँका जनता निष्फिक्री भएर सुपरमार्केटमा पुग्दै सामान किनिरहेका छन्।

अन्य देशका लागि निगरानी नै ठूलो चुनौती हुनसक्छ। स्वतन्त्र र प्रजातान्त्रिक समाजमा निजी सूचनालाई यसरी खुला रुपमा बाहिर ल्याउनु स्वीकार्य नहुनसक्छ। तर, पनि महामारी नियन्त्रणमा दक्षिण कोरिया सफल देखिएको छ। दक्षिण कोरियाको यो उपाय युरोपेली समाजमा पाच्य नहोला किन कि कोरिया पूर्वीय सामुहिकतामा आधारित रहेको समाज हो भने पश्चिमा एकात्मकमा आधारित छ।

त्यसैले पनि विश्वका सरकारहरुले व्यक्तिका निजी अधिकार तथा व्यक्तिगत सूचना सार्वजनिक गर्नु र गतिविधिमा रोक लगाउन सकिरहेका छैन। त्यसैले त पश्चिमा समाजमा कोभिड-१९ पछिल्लो समयमा तीब्र रुपमा फैलिरहेको छ।

इटाली र फ्रान्स यसका उदाहरण हुन्। धेरै पछिमात्र उनीहरुले यस्तो उपाय अपनाउन थालेका हुन्। त्यहाँको संस्कार फरक थियो। र, पूर्वाधार पनि चुनौती थियो। जुन रातारात निर्माण गर्न पनि सकिँदैन थियो। फेब्रुअरी २२ मा ५४ जना संक्रमित रहेको इटालीमा मार्च २ मा आइपुग्दा एक हजार ६ सय ९४ पुग्यो यो संख्या। यो संख्या मार्च ९ सम्म पुग्दा ९ हजार १ सय ७२ पुग्यो। मर्नेको संख्या ४ सय ५० नाघ्यो।

इटालीमा किन तीब्र रुपमा कोभिड-१९ को संक्रमण फैलियो? इटालीबाट संक्रमण किन तीब्र गतिमा अरुतिर फैलियो? के इटालीले सुरुवाती चरणमा दिएको प्रतिक्रियाको असर हो यो?

उत्तरी इटालीमा पहिलो संक्रमण देखियो। चीनबाट आएका नागरिकमा लक्षण देखिँदा उनी अस्पतालमा पुगे तर परीक्षणका लागि ३६ घण्टा कुर्न बाध्य भए।

यस अवधिमा उनी त्यहाँ अस्पतालका कर्मचारी र परिवारसँग सम्पर्कमा पुगे। जसले संक्रमणलाई तीब्र रुपमा फैलाउन सहयोग गर्‍यो। सुरुवातमै सतर्कता नअपनाउँदा कोभिड-१९ अहिले युरोपभर महामारीका रुपमा फैलिँदै गएको छ।

सोमवार अबेरसम्मको तथ्यांकमा विश्वभर तीन लाख ३२ हजार ९३० जनामा संक्रमण देखिएको छ। सोमवारमात्र ४० हजार ७ सय ८८ जना संक्रमित भएका छन्।

सोमवार मात्र एक हजार ७ सय २७ जनाको मृत्यु भएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ। मर्नेको संख्या विश्वभर १४ हजार ५ सय १० पुगेको छ। युरोपमा मात्र मृत्य हुनेको संख्या ८ हजार ७ सय ४३ पुगेको छ। सोमवारमात्र युरोपमा एक हजार तीन सय १८ जनाको मृत्यु भयो। युरोपमा संक्रमितहरुको संख्या एक लाख ७१ हजार ४ सय २४ पुगेको छ।

इटालीमा मात्र ५९ हजार एक सय ३८ जनामा कोभिड-१९ को संक्रमण फेला परेको छ। यहाँ मृत्यु हुनेको संख्या पाँच हजार ४ सय ७६ छ। स्पेनमा पनि एक हजार सात सय २० जनाको मृत्यु भइसकेको छ।

चीनपछि महामारीको रुप लिएको कोरियामा भने संक्रमण नियन्त्रणतर्फ गएको देखिन्छ। कोरियामा ८ हजार ९ सय ६१ जना संक्रमित हुँदा एक सय ११ जनाको मात्र मृत्यु भएको छ।

नेपालमा पनि दुई जना संक्रमित फेला परेका छन्। ६१० जनाको नमुना परीक्षण गरिएकोमा ६०८ जनामा नेगेटिभ टेस्ट भएको छ। दुई जना पोजेटिभमध्ये एक जना उपचारपछि निको भएइसकेका छन् भने एक जना आइसोलेसनमै छन्।

फ्रान्सबाट आएकी युवतीमा कोरोना देखिँदा नेपालमा थप त्रास फैलियो। उनले नेपालमा आएर तत्काल परीक्षण नगरी घर पुगिन्। उनको सम्पर्कमा को को आए, सरकारले ट्र्याक गर्ने प्रयास गरिरहेको छ।

यदि नेपालमा पनि संक्रमण रोकथामको कोरियाली उपाय अपनाएनौँ भने यसले नेपाललाई थिलोथिलो पार्ने छ। हामी माझ दुई वटा विकल्प छन्। चीन र कोरियाको जस्तै सावधानी अपनाउने र आफै सर्तक हुने। सरकारको लक डाउनलाई साथ दिएर घरमै बस्ने र सुरक्षित हुने वा इटाली र पश्चिमा मुलुकजस्तो संक्रमण आएपछि तातिएर लक डाउन गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell