PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड १९ पोजेटिभ भेटिएकी किशोरीसँग यात्रामा को को थिए? यसरी भइरहेछ १ सय ९८ जनाको ट्र्याकिङ



सविन ढकाल

कोभिड १९ पोजेटिभ भेटिएकी किशोरीसँग यात्रामा को को थिए? यसरी भइरहेछ १ सय ९८ जनाको ट्र्याकिङ

काठमाडौं : चैत ४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन भएको विमान अवतरण गर्‍यो। विमान अवतरण हुँदा बिहानको करिब १० बजेको थियो। कतारको दोहाबाट आएका १ सय ९८ जना यात्रु विमानबाट ओर्लिए र लागे आआफ्नो गन्तब्यतिर।

कोरोनाको कहरले विश्व नै संक्रमित भइरहँदा देश फर्किन पाएपछि वाग्लुङ ढोरपाटनका २४ वर्षीय एक युवकलाई कहिले परिवार र आफन्तलाई भेटूँजस्तो भइहाल्यो। एक रात पनि काठमाडौंमा नबिताउँदै उनी साँझको गाडी समातेर लागे गाउँतिर। विदा लिएरै घर फर्किएका उनी काठमाडौं उत्रेको भोलिपल्ट बिहानै आफ्नै घरको दैलोमा पुगे।

आमा, श्रीमती र दुई छोराछोरी उनको आगमनमा दंग नपर्ने कुरै थिएन। तर, उनको यो खुशी धेरै दिन भने टिक्न पाएन। घर पुगेको पाँच दिनपछि हुरीसरी आएको एउटा खबरले उनलाई बेचैन बनायो। उनीमात्र होइन, परिवार सिंगै त्रसित हुन पुग्यो।

खबर थियो- कतारको दोहा ट्रान्जिट बनाएर फ्रान्सबाट आएकी किशोरीमा कोरोनाको संक्रमण। कोरोना संक्रमित किशोरी आएकै दिन कतारबाट अन्य दुईवटा विमान पनि काठमाडौंमा ल्यान्ड भएका थिए। त्यसैले, कुन विमानमा ती किशोरी थिइन भन्ने प्रष्ट थिएन। त्यसैले उनको मुटुको धड्कन तेज हुनु स्वभाविक बन्यो। अन्त्यमा, कल साइन अनुसार उनी चढेको विमानमा नै ती युवती भएको खबर सार्वजनिक भएपछि उनको हंसले ठाउँ छोड्ला जस्तै भयो।

यसबारे गाउँमा पनि हल्ला फैलिसकेको थियो। तर, मंगलवार बिहानै ढोरपाटन नगरपालिका मेयर, प्रहरी र चिकित्सको टोली उनकै घरमा पुगेर उनलाई क्वारेन्टाइनमा बस्न भने। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीका अनुसार ती युवक अहिले एउटा घरमा र उनका बाँकी परिवार अर्को घरमा छन्, क्वारेन्टाइनका रुपमा।

                                 तस्बिर : शिवराज कँडेलको फेसबुकबाट

'उनको स्वास्थ्य अवस्था ठीकै छ। हामीले अहिले उनको परिवार र उनलाई होम क्वारेन्टाइनमा राखेका छौं,' मेयर नेपालीले पहिलोपोस्टसँग भने।

सोमवार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चैत ४ गते दोहाबाट आएकी एक किशोरीमा कोरोनाको संक्रमण देखिएको सार्वजनिक गर्‍यो। ती किशोरी फ्रान्सबाट दोहा हुँदै काठमाडौं झरेकी थिइन्। त्यसपछि सरकारका विभिन्न निकायले कतारबाट आएका नेपालीहरुको विवरण खोज्न थाल्यो।

'केही फेसबुकमा आएका समाचार र माथिबाट आएको निर्देशनपछि हामी बिहानै युवकको घरमा पुगेका थियौं,' मेयर नेपालीले भने।

मेयरसहितको टोलीलाई युवकले उनीसँगै विमानमा करिब २ सय जना यात्रु भएको बताएका छन्। अध्यागमन विभाग र नेपाल प्रहरीको तथ्याङ्क अनुसार १ सय ९८ जना यात्रु त्यो विमानमा आएका थिए।

दोहाबाटै अथवा त्यसबाहेकका मुलुक कहाँबाट को को आयो त? के उनीहरु जसरी नेपाल आए, संक्रमण फैलाउन योगदान त पुर्‍याएनन्? त्यही विमानमा आएकी किशोरीमा संक्रमण देखिएपछि अरुमा पनि यस्तैखाले संक्रमणको आशंकामा सरकारले उनीहरुको ट्र्याक गरिरहेको छ त?

अध्यागमन विभागले त्यो विमानबाट नेपाल आएका सबै यात्रुको विवरण बुझाइसकेको छ।

'हामीले लिएको विवरण बुझाइसकेका छौं। अब को कहाँ छन् खोज्ने काम अरु निकायले गर्ला,' अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले पहिलोपोस्टसँग भने।

कसरी भेटिएलान् विमानका ती यात्रु ?

अहिले धेरैको चासोको विषय भनेको दोहाबाट आएको त्यो विमानमा को को थिए भन्ने नै हो। अनि दोस्रो चासो चाहिँ उनीहरु कहाँ कहाँ गए र के के गरे? भन्ने नै हो। किनकि कोरोना कहाँबाट भित्रियो र कसरी फैलिरहेको छ भन्ने थाहा नहुने हो भने एक्कासी फैलिँदै गरेको प्रकोपको जरा काट्न सकिन्न।

को को आएका थिए भन्ने प्रश्नको जवाफ सजिलै भेटियो। किनकी त्यो जानकारी अध्यागमन विभाग, र सम्बन्धित विमान कम्पनीबाट सजिलै लिन सकियो।

राहदानीमा उनीहरुको फोटो पनि हुन्छ। त्यति नभए विमानस्थलको सीसी क्यामरामा उनीहरुको अनुहार कैद भएको भेट्न सकिन्छ। तर, यतिले मात्र उनीहरु अहिले रहेको स्थानमा पुग्न सम्भव हुने कुरै भएन।

अध्यागमन विभागका निर्देशक तिवारीले एउटा क्लु भने दिए, उनीहरुलाई भेट्ने। अध्यागमन विभागले संचालनमा ल्याएको सफ्टवेयर 'नेपाली पोर्ट' बाट उनीहरुलाई ट्र्याक गर्न सकिने रहेछ।

'उनीहरुको प्रष्ट जानकारी हामीसँग हुन्छ। ठेगाना पूरै हुन्छ, त्यसैको आधारमा खोज्न सकिन्छ। हामीले सम्बन्धित निकायलाई यसबारे जानकारी दिइसकेका छौं,' निर्देशक तिवारीले भने।

के हो नेपाली पोर्ट?

अध्यागमन प्रणालीलाई व्यवस्थित र अत्याधुनिक बनाउन माघ १३ गतेबाट विभागले नेपाली 'पोर्ट' सफ्टवेयर संचालनमा ल्याएको हो। यसमा विमानबाट नेपाल आउने सबैको बायोमेट्रिक रेकर्ड रहन्छ। अर्थात् उनीहरुको फिङ्गप्रिन्ट, तस्बिर, मेट्रिक्स इन्फर्मेसन सबै यसमा रहन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सफ्टवेर थालनीको उद्घाटन गरेका थिए। तर, यो सफ्टवेयरले अहिलेको परिस्थितिमा कतिको साथ दिन्छ त? तिवारीले दिएको क्लुको प्रभाव कस्तो हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ।

गृह मन्त्रालयले अध्यागमन विभाग, नेपाल उड्यान प्राधिकरण लगायत निकायसँग आवश्यक सूचना जानकारी परेको खण्डमा सुरक्षा निकायलाई दिने गरेको गृह मन्त्रालयका प्रवक्ता केदारप्रसाद शर्माले जानकारी दिए।

'सम्बन्धित निकायले खोजी गरिरहेको जानकारी पाएका छौं,' प्रवक्ता शर्माले भने, 'पक्कै पनि प्रविधिले साथ दिनसक्छ।'

विमानमा आएका यात्रुलाई ट्र्याक गर्ने जिम्मेवारी अहिले नेपाल प्रहरीले पाएको छ। २४ घन्टाको अवधिमा वाग्लुङ र झापामा रहेका त्यही विमान चढेर आएकाहरुसम्म प्रहरी पुगिसकेको छ।

'हामीले ट्र्याक गरेका छौं। सम्बन्धित निकायले दिएको सूचनाको आधारमा हाम्रो युनिटलाई पत्राचार गरेर उनीहरुलाई खोजिरहेका छौं। भेटिएछि चिकित्सक सहितको टोलीले उनीहरुलाई क्वारेन्टाइनमा राख्नेछ,' नेपाली प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले भने।

सफ्टवयरले साथ नदिए पनि सोही विमानबाट आएका यात्रुहरुले मानवीय संवेदनशीलतालाई ख्याल गर्दै सम्पर्कमा आइदिए ती यात्रु र अरु जोखिममा पर्न सक्ने सबैको कल्याण नै हुने थियो। किनकि प्रविधिभन्दा ठूलो कुरा त मानवीय भावना नै हो जसलाई कसैले उछिन्न सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell