PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चोकचोकमा भेला भएर मस्त गफिएकालाई नियन्त्रणमा लिँदै प्रहरी, नटेरेपछि धरपकड शुरु



राधेश्याम पटेल

चोकचोकमा भेला भएर मस्त गफिएकालाई नियन्त्रणमा लिँदै प्रहरी, नटेरेपछि धरपकड शुरु

वीरगंज : कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउन पर्साका जनताले आंशिक रुपमा पालना गरेको देखेर स्थानीय प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मध्यान्ह १२ बजेदेखि मधेस आन्दोलन ताका देखिएको कर्फ्यु नै लगाएको देखिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार राज्यको निर्देशन जनताले नबुझेपछि सचेत गराउन र कोरोना महामारी रोकथामको लागि प्रशासनले कडाइ गरेको बताए।

उनले भने, ‘बिना काम मानिसहरु बजारकोे चोकचोकमा भेला भएर गफमा मस्त देखिएको रिपोर्टिङ आएको छ, त्यसकारण लक डाउनलाई कडाईका साथ पालना गर्न निर्देशन दिएका छौ।’

उनले प्रहरीको आग्रह नमान्नेलाई नियन्त्रणमा लिन पनि निर्देशन दिएको जानकारी गराए। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बजार क्षेत्रमा बिना कामको रमिता हेर्नेको भिड देखिएकोले सुरक्षा समितिकै निर्देशनमा किराना, खाद्यान्न, फलफुल, तरकारी, माछामासु पसल पनि बन्द गराउन टोली परिचालन गरेको जनाइन्।

‘अहिलेलाई सबै पसल बन्द गरी घरमा बसेका छौँ, प्रहरीले पेट्रोलिङ गरी घरबाट नसिक्न भनेको छ’, उनले भनिन्, ‘साँझ ४ वजे जिल्ला प्रशसानले फेरी विज्ञप्ति जारी गर्दैछ, त्यसमा अत्यावश्यक वस्तुको खरिदको लागि केही जानकारी आउँछ की।’

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले वीरगंज महानगरको ३२ वटामा वडा अध्यक्षहरुलाई आफनो वडाका जनताको आवश्यक सामान व्यवस्थापन गर्न र बिना भिडभाड समान खरिदबिक्रीको लागि स्थानीय व्यवसायीसँग समन्वय गर्न पहल भइरहको बताए। उनले वीरगंज महानगरले विपन्न, गरिब र ज्याला मजदुरी गरी खाने परिवारका लागि एक ठाउँमा खिचडी पकाएर खुवाउने शिविर पनि चलाउन लागेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंजको विभिन्न ठाउँमा भेला र हिडडुल गर्ने ७० जनालाई नियन्त्रणमा लिएर घण्टाघर नजिक रहेको विपी पार्कमा राखेको जनाएको छ। स्थानीय निर्देशन आएपछि एक पटकको लागि चेतावनी दिएर छोडने तयारी छ।

अस्पतालमा घटयो भीड

लकडाउनमा प्रशासनले गरेको कडाइका कारण वीरगंजका विभिन्न अस्पतालमा बिरामीको संख्यामा कमी आएको छ। कोरोनाविरुद्धको अभियानको स्वास्थ्य समन्वय समितिका संयोजक एवं नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार नारायणी अस्पतालमा ४० प्रतिशतले बिरामीको संख्यामा कमी आएको बताए।

उनले भने, ‘भिडभाड अलि कम छ तर शंकाको आधारमा पनि केही बिरामी आइराख्नु भएको छ। हामीले ओपिडी र फिबर क्लिनिकको सहायताले उपचार सेवालाई जारी नै राखेका छौ।’

आकस्मिक सेवा बाहेक अस्पताल नआउन पनि उनले सर्वसाधारणसँग अफिल गरेका छन्।

बारा प्रशासनद्वारा निषेधाज्ञा जारी

बारा प्रशासनले पनि लकडाउनलाई कडाईका साथ पालना गराउन विज्ञप्ति जारी गर्दै जिल्ला भरीमा निषेधाज्ञा जारी गरेको छ। बारा जिल्लामा पनि सवारी साधन, सर्वसाधारण उद्योग कलकारखाना तथा व्यवसाय ठप्प भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell