
काठमाडौं : मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले तीन साताअघि ‘मिस वर्ल्ड’ टोनी एन सिंहसँग तीन दिने नेपाल भ्रमणमा आएकी थिइन्।
सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको तीन दिने नेपाल भ्रमण सकेर फर्किएसँगै जुलियालाई कोरोना भाइरसको संक्रमण देखिएको चर्चा सामाजिक सञ्जाल तथा मिडियामा छायो। उनलाई कोरोना पोजेटिभ देखिएको भन्दै समाचारहरु पनि प्रकाशित भए।
जुलियाले ती अफवाहको खण्डन गरिन्।
उनले आफूलाई रुघा खोकीले सताएपनि कोरोना नभएको बारे लिखित स्पष्टिकरण दिइन्। उनले लेखेकी छिन्, ‘चिसोले सताएपछि कोरोना भाइरस संक्रमणको जाँच गरेको हो। तर संक्रमण पुष्टि भएन। तपाईंहरुको साथ र सहयोगको लागि धेरै धन्यवाद। म अहिले निकै राम्रो महसुस गरिरहेकी छु।‘
जुलियाले हाल आफू स्वस्थ रहेको समेत जनाएकी छिन्।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको पेजमा पनि जुलिया मोर्लेलाई लिएर प्रकाशित सामाग्री गलत भएको उल्लेख गरिएको छ।