PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

भारतमा २१ दिनका लागि लकडाउन घोषणा, मोदीले भने: २१ दिन संयमित भएनौ भने देश २१ वर्ष पछि धकेलिनेछ



पहिलोपोस्ट

भारतमा २१ दिनका लागि लकडाउन घोषणा, मोदीले भने: २१ दिन संयमित भएनौ भने देश २१ वर्ष पछि धकेलिनेछ

काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भारतभर २१ दिनका लागि लकडाउन घोषणा गरेका छन्।

मंगलबार साझ देशबासीका नाममा सम्बोधन गर्दै मोदीले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि लागु हुनेगरी तीन साताका लागि भारतमा पूर्ण लकडाउन हुने घोषणा गरे।

उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वान गरे। घोषित ३ हप्ता भारतका लागि विशेष समय भएको बताउँदै मोदीले यस बेला संयमित नभए देश २१ वर्ष पछाडि धकेलिने चेतावनी समेत दिए।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएसँगै मोदीले गत आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका थिए। सो दिनदेखि विभिन्न राज्यहरुमा लकडाउन घोषणा भएको थियो। तर, मानिसहरुले घरबाट बाहिर निस्कन छोडेनन्। भाइरस रोक्ने भन्दै लगाइएको लकडाउन प्रभावकारी नभएपछि केही राज्यहरुमा त कर्फ्यू नै लगाएको थियो। यद्यपि, भारतीय नागरिकभने सडकमा ओर्लिएका थिए।

राज्य सरकारको प्रयत्न सफल नभएपछि केन्द्रले नै देशभर लकडाउन गर्ने निर्णय गरेको हो। मोदीले आज रातिदेखि २१ दिनसम्म देशभर ‘लकडाउन’ हुने घोषणा गरेका हुन्।

देशबासीको नाममा सम्बोधन गर्दै उनले ‘जनता कर्फ्यू’ को समयमा भारतीयहरुले भाइरसविरुद्ध लड्ने हौसला देखाएको भन्दै ‘लकडाउन’ को समयमा पनि त्यसैगरी घरभित्र बस्न आग्रह गरे।

‘शारीरिक दुरी कायम गर्नाले मात्रै हामी कोरोना भाइरसबाट सुरक्षित हुनसक्छौं। त्यसलाई रोक्न सक्छौं। सबैजना आआफ्नो घरभित्रै बस्नुस् बाहिर नआउनुस’, मोदीले भने।

सम्बोधनका क्रममा मोदीले ‘कोरोना’ लाई व्याख्या समेत गरे। एक प्लकार्ड निकाल्दै मोदीले कोरोनाबाट सुरक्षित हुन ‘कोइ रोड पे नानिक्ले’ (कोही पनि सडकमा ननिस्कनु) हो भन्दै लकडाउनमा साथ दिन आग्रह गरे।

भारतमा भाइरसको संक्रमणबाट ५ सयभन्दा धेरै संक्रमित हुँदा १० जनाको मृत्यु भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell