गाईघाट : कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लंघन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उल्लंघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार बिहान ७ बजेदेखि दिनको १ बजेसम्ममा जिल्लामा लकडाउन उल्लंघन गर्ने २१० सवारी साधन नियन्त्रणमा लिइसकिएको छ। लकडाउन उल्लंघन गर्ने सवारीका साधनमा १८० मोटरसाइकल र बाँकी ट्रक ,टेम्पो ,सुमो र ट्र्याक्टर रहेको प्रहरीले बताएको छ। लकडाउन उल्लंघन गर्ने सम्पूर्ण सवारी साधन एक हप्तासम्म प्रहरी नियन्त्रणमा रहने पनि प्रहरीले बताएको छ।