PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनका कारण वीरगंजमा सस्तियो ब्रोइलर कुखुरा, आकाशियो हरियो तरकारीको भाउ



राधेश्याम पटेल

लकडाउनका कारण वीरगंजमा सस्तियो ब्रोइलर कुखुरा, आकाशियो हरियो तरकारीको भाउ

वीरगंज : सरकारले कोरोना रोगको रोकथामको लागि लगाएको लकडाउनका कारण वीरगंज आसपासको बजारमा हरियो तरकारी तथा फलफूलको मुल्य ह्वात्तै अकाशिएको छ। ब्रोइलर कुखुराको भने खपत घटेपछि भाउ सस्तिएको छ।

वीरगंज माछामासु व्यवसायी संघका सचिव ग्यासु मिया देवानका अनुसार वीरगंज बजारमा अहिले एक सय ६० रुपैयाँ प्रतिकिलोमा कुखुरा र ९ सय रुपैयाँ प्रतिकिलोमा खसीको मासु बिक्री भइरहेको बताए। तर, सरकारले माछामासु पसलमा पनि रोक लगाएपछि मंगलवार वीरगंजका माछा मासु व्यवसायी मर्कामा परेको उनले गुनासो गरे।

त्यस्तै, सरकारले लकडाउन लगाए तापनि उचित प्रबन्ध नमिलाउँदा सर्वसाधारण उपभोक्ता मर्कामा परेको वीरगंजका सेराज अहमदले आरोप लगाए। उनले सरकारको हतारको निर्णयले वीरगंजमा अहिले हरियो तरकारीको मूल्य दोब्बरले वृद्धि भई समान्य उपभोक्ता महँगीको चपेटामा फसेको गुनासो गरे।

उनले भने, ‘हिजोसम्म ३० रुपैयाँ पर्ने आलु आज ६० रुपैयाँ पनि पाउन छोडेको छ। प्याज, काउली, गोलभेडा, कटहर, भिन्डी, करेला, परवल, सागलगायत सबै तरकारीको दाम बढेको छ।’

उनले सरकारी पक्षले सुपथ मूल्यमा तरकारी किन्न पाइयोस् भन्ने अभिप्रायले लकडाउन अवधिभर बजारको अनुगमन गरी तोकिएको पसलबाट २४ घण्टा तरकारी तथा खद्यान्न सामाग्रीको बिक्री खुला गर्नु पर्ने माग गरेका छन्।

वीरगंज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बाहिरबाट आउने तरकारीको आपूर्ति अचानक रोकिएपछि वीरगंजको तरकारी बजारमा महंगीएकोस्वीकार गरे।

संघका अनुसार आलु थोकमा ४४ रुपैयाँ प्रतिकिलो, प्याज ६०, सिमी ४०, काउली ४०, मुला २०, गोलभेडा ३०, भेन्टा ५०, भिन्डी १००, कटहर ५०, करेला ७०, परवल १२० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ भने पालक र गेनरीको साग मुठाको १० देखि १५ रुपैयाँमा बिक्री भइरहेको छ।

‘व्यवासायीले दाम बढाएका होइनन्, पर्सा, बारा जिल्लाबाट साइकलमा आउने हरियो तरकारी र आलु बन्दको कारण रोकिएको हो’, उनले भने, ‘सरकारले तरकारीको सवारी साधन र किसानलाई बजारसम्म आउन दिनु पर्छ, नत्र अझै तरकारीको भाउ बढछ।’

तरकारी तथा खाद्यान्न व्यवसायीहरुले उपभोक्ताहरुलाई नआत्तिन पनि सुझाव दिएका छन्। उनीहरुले धेरै दिनको भण्डारणको चक्करमा बजारमा खद्यान्न तथा तरकारीको चरम अभाव सृजना भई महँगी बढिरहेको पनि स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell