PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनको समयमा कसरी हुँदैछ खानेपानी वितरण?



दिनेश खड्का

लकडाउनको समयमा कसरी हुँदैछ खानेपानी वितरण?
फाइल फोटो

काठमाडौँः कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देश नै लकडाउन गरेको छ। अत्यावश्यक बाहेक बाहिर निस्किएमा कारवाही गर्नेगरी सुरक्षा निकायलाई समेत परिचालन गरेको छ।

लकडाउनपछि काठमाडौँ उपत्यकाका बासिन्दाको त्रास भने खानेपानीको अभावसँग जोडिएको छ। लकडाउनअघि ग्यासको जोहो गर्न दौडिएका उपभोक्ताका लागि खानेपानी वितरण जटिल हुने त्रासले सताएको छ। सरकारले पिउने पानीको वितरण प्रभावकारी बनाउन नसक्दा उपभोक्ता त्रसित बनेका हुन्।

उपत्यकाका धेरै स्थानमा अहिले पनि खानेपानी संस्थानले पानी वितरण गर्न सकेको छैन। ती स्थानमा इनार र बोरिङ लगायतको पानीसमेत छैन। पिउने पानीको जोहो स्थानीयको पिरलो बनेको छ। 

लक डाउन गरे पनि बिहानैदेखि नियमित जस्तै गरि खानेपानी घरघरमा पुर्‍याएको नेपाल बोतल वाटर उत्पादक संघले जनाएको छ।

माग भएअनुसार निरन्तर पानी पठाइरहेको संघका अध्यक्ष सुवास भण्डारीले बताए। यो सेवा लक डाउन अवधिभर निरन्तर हुने उनले दाबी गरे।

'पसल र स्टोरहरु बन्द भएको अवस्था छ। हामीले घर घरमै जार र अस्पतालहरुमा बोतलको पानी मागअनुसार बिहानैदेखि पुर्‍याइरहेका छौँ, उनले भने, 'कुनै ठाउँमा माग आए त्यहाँ पानी पुर्‍याउन तयार अवस्था छौँ।'

महासंघले सबै पानी उद्योगलाई पूर्णरूपमा बन्द नगर्न सर्कूलर जारी गरेको छ।

उपत्यकामा दुई सय २५ वटा उद्योग सञ्चालनमा छन्। एउटै उद्योगमा जार र बोतल दुबै उत्पादन हुन्छन्। सबै खुल्ला छ। उपत्यकामा दैनिक डेढ लाख २० लिटरका जार खपत हुन्छ भने २५ हजार कार्टुन एक लिटरका बोतलको पानी खपत हुने गर्छ।‍ जार र बोतल गरी करिब ५० लाख लिटर पानी खपत हुने गरेको महासंघले जनाएको छ।

उपत्यकाबाट ३० प्रतिशत मानिस बाहिरिएका छन्। त्यही कारण पानी वितरण गर्न सहज हुने उनले अपेक्षा गरे। महासंघले चाल्नाखेल क्षेत्रमा सुदीप बस्नेतलाई ९८५१२४६५५१, ललितपुर क्षेत्रमा राम बराल ९८४१८८९८६५, जोरपाटी क्षेत्रमा श्रीकुमार श्रेष्ठ ९८५१०२९१५९, गो‌गंबुमा ध्रुव गौतम ९८५१०२९६४९, बुढानीलकण्ठमा धर्म ९८५११५२४२२ र भक्तपुरमा राम सुवाल ९८५१००८६३४ लाई फोन गरेर पानी मगाउन सकिने व्यवस्था गरेको छ।

मास्क र स्यानिटाइजर नपाउँदा समस्या

मास्क र स्यानिटाइजर नपाउँदा पानी वितरणका लागि समस्या भएको भण्डारीले बताए। 'मास्क र स्यानिटाइजर प्रयोग गरेरै हामीले बजारसम्म पानी पुर्‍याउँछौँ', उनले भने, 'स्यानिटाइजर र मास्क बजारमा पाएका छैनौँ।'

महासंघले स्थानीय तहसँग समेत मास्क र स्यानिटाइजर मागेको थियो। स्थानीय तहले किनेर बिल पेश गर्न आग्रह गरेका थिए।

महासंघका अनुसार उद्योगका कामदार घर फर्किन थालेपछि केही समस्या भने भएको छ।

'मान्छे नभएपछि बजारमा पुर्‍याउन केही समस्या हुन्छ', भण्डारीले भने, 'उद्योगमा एक जनाले काम गर्न सक्छन्। हामीले कठिन परिस्थितिमा समेत बजारसम्म पानी पुर्‍याउन तयार छौँ।' 

केयुकेएलको सेवा पनि निरन्तर

लकडाउनको अवस्था आउने जानकारी हुँदाहुँदै खानेपानी वितरण गर्ने सरकारी संस्थान भने कुनै तयारी नगरी बसिरहेको छ।

उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पुरानै तरिकाले खानेपानी वितरण गरिरहेको छ।

'हामीलाई वितरणमा समस्या पर्दैन', केयुकेएलका प्रवक्ता प्रकाश राईले भने 'कोरोनाकै लागि भनेर टिम बनेको छैन। तर समन्वयको हाम्रो टिम भने सधैंकै हुन्छ। नियमित हुन्छ।'

केयुकेएल अन्तर्गत सञ्चालन विभाग छ। विभागले पानी वितरणलाई समन्वय गरेर पानी वितरण नियमित गराउनेछ। अहिले केयुकेएलमा सिफ्ट ड्युटीमा पानी वितरण हुन्छ। करिब ६ जना केयुकेएलका कर्मचारी वितरणमा खटिएका छन्। सात दिन बिदा र सात दिन २४ सै घण्टा काम गर्छन्।

अहिले उपत्यकामा ४३ करोड लिटर पानीको माग छ। जसमा केयुकेएलले ११ करोड लिटर पानी उत्पादन गरेर साढे नौ करोड लिटर घर–घरमा पुर्‍याउँछ। केयुकेएलले १३ वटा ट्यांकरमार्फत नियमित पानी वितरण गरिरहेको जनाएको छ।

निजी क्षेत्रका ट्याङ्करसँग समन्वय गरे खानेपानी व्यवस्थापन बोर्डले वितरणलाई निरन्तर बनाइरहेको जनाएको छ। बोर्डका अनुसार ट्याङ्कर चालकहरुलाई आवश्यक सुरक्षाका उपायहरु अपनाएर पठाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell