PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानमा कोरोना: सेना परिचालन, वित्तीय प्याकेजको घोषणा, इन्धन प्रतिलिटर १५ रुपैयाँले घट्यो



पहिलोपोस्ट

पाकिस्तानमा कोरोना: सेना परिचालन, वित्तीय प्याकेजको घोषणा, इन्धन प्रतिलिटर १५ रुपैयाँले घट्यो

काठमाडौं: कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्‍त्रणका लागि पाकिस्तानमा वित्तीय प्याकेजको घोषणा गरिएको छ। प्रधानमन्त्री इमरान खानले मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न प्याकेजको घोषणा गरेका हुन्।

घोषित प्याकेजमा मजदुरको सहयोगका लागि २ सय अर्ब, उद्योगीहरु (निर्यातकर्ता र आयातकर्ता)को लागि १ सय अर्बको ट्याक्स रिफन्डस्, साना र मझौला उद्योगका लागि १ सय अर्ब, गरिब र निम्न वर्गका लागि १५० अर्ब, पेट्रोल, डिजेल र केरोसिनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ कमी, ग्यास र विजुलीको विल ३ महिनाका लागि किस्तामा बुझाउने व्यवस्था, मेडिकल उपकरण खरिदका लागि ५० अर्ब, खाद्य सामग्रीहरु कर छुट तथा रद्द, आपतकालिन लकडाउनमा आइपर्ने समस्याको सामना गर्न सय अर्ब छुट्याइएको गल्फ न्यूजले जनाएको छ।

हल्लाका भरमा लकडाउन कर्फ्यू हुन्न

प्रधानमन्त्री खानले पाकिस्तानलाई कोरोनाभन्दा अफवाहबाट बढी खतरा रहेको बताए। हल्लाका आधारमा लकडाउनको अन्तिम स्टेज कर्फ्यू लागु नगर्ने उनको भनाई छ। हल्लाका आधारमा विना तयारी कर्फ्यू गर्दा समस्या आउने भन्दै उनले कोरोनाको पहिलो संक्रमित देखिएलगत्तै लकडाउन सुरु भइसकेको र त्यतिबेला देखिनै विद्यालय, सीमा, बजार बन्द गर्न सुरु गरिएको स्मरण गराए।

यातायातबाहेक सबै कुरा बन्द गरिसकेको जानकारी दिँदै उनले यो बन्द गरे आपूर्ति बन्द हुने र यसले मेडिकल उपकरण, औषधि आयात आपूर्ति बन्द हुने तथा मानिस अस्पताल जान नसक्ने अवस्था आउने बताए। आफू बहुसंख्यक पाकिस्तानी गरिब नागरिकको समस्या हेरेर अगाडि उनको भनाई छ। प्रधानमन्त्री खानले भने, 'बाँकी विश्वभन्दा अहिलेसम्म हाम्रो अवस्था राम्रो छ।'

आफूहरु १५ जनवरीदेखि नै कोरोनाको तयारीमा लागेको भन्दै उनले हालसम्म पाकिस्तानमा ६ जनाको मृत्यु भएको र ९ सय मानिस संक्रमित भएको जानकारी दिए।

सेना परिचालन

त्यसैगरी पाकिस्तानमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि सेना परिचालन गरिएको छ। सैनिक प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले संघीय र राज्य सरकारको काममा सेनाले सघाउने बताए। इस्लामाबादको सडक सेनाले नियन्त्रणमा लिइसकेको छ।

पाकिस्तानको गृह मन्त्रालयले पनि सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउन सैनिकहरू देशभर तैनाथ गरिएको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'सेनाले कोरोना भाइरसविरूद्ध लड्न प्रान्तहरुलाई सहयोग पुर्‍याउँछ। नागरिक घरमै रहने सरकारी आदेशहरुको पालना गराउनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell