PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘कोरोना शहरमा मात्र फैलिन्छ गाउँमा आउँदैन’ भन्दै मानिसहरु घरबाहिर निस्केपछि…



फूलमाया पुरी

‘कोरोना शहरमा मात्र फैलिन्छ गाउँमा आउँदैन’ भन्दै मानिसहरु घरबाहिर निस्केपछि…

काठमाडौं: जिल्ला प्रशासन कार्यालय जुम्लाले चैत्र ११ देखि १८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

सरकारले ११ देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेसँगै त्यसलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। भनिन्,‘निषेधाज्ञा भने पनि त्यो लकडाउन नै हो। सक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले जारी गर्न सक्छ।’

देशभर लागू भएको लकडाउनको पहिलो दिन केहीले नियम उल्लंघन गर्न पनि खोजेका र उनीहरुलाई सचेत गराउँदै फर्काइएको उनले बताइन्। निषेधाज्ञा जारी भएसँगै नागरिकमा सकरात्मक प्रभाव परेको उनले भनाइ छ।

उनले भनिन्, ‘कतिपयमा यो शहरमा मात्र फैलिने रोग हो गाउँमा आउँदैन भन्ने बुझाइ छ। तर स्वयं व्यक्ति आफ्नो स्वस्थ्यप्रति सजग रहनुपर्ने बेला भएको भएको छ।’

सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले निषेधाज्ञा जारी गरिए पनि औषधि, खाद्यान्न जस्ता अत्यावश्यक सामग्री खरिद गर्न र बैंक कारोबारका लागि परिवारका एक सदस्यका दरले बाहिर निस्कन पाउने व्यवस्था गरिएको बताए।

‘त्यसका लागि दैनिक चार घण्टाका लागि निश्चित दुई समय तोकिएको छ। बिहान ७ देखि ९ र दिउँसो ४ देखि साँझ ६ बजेलाई बाहिर निस्कन छुट दिइएको छ’, देवकोटाले भने।

त्यस्तै प्रहरीमार्फत माइकिङ गरि निषेधाज्ञाबारे स्थानीयलाई सचेत गराउने कार्य भइरहेको छ। बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि जिल्ला प्रशासन कार्यलयले पासको व्यवस्था गरेको छ।

देवकोटाले निषेधाज्ञा उल्लंघन गर्ने जो कोहीलाई पनि संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन अनुसार कारवाही गरिने बताए। साथै यो विपद्को समयमा नियम उल्लंघन गर्नेलाई विपद् व्यवस्थापन ऐन २०७४ अनुसार पनि कारवाही गर्न सकिने उनले बताए।

यसो त भारतबाट फर्किएकाहरुका कारण जोखिम बढेको भन्दै प्रजिअ बञ्जाडेले भनिन्,‘केही दिनदेखि भारतमा मजदुरी गर्न गएका नेपाली फर्कने संख्या बढेसंगै कोभिड १९ को जोखिम बढेको छ।’

उनका अनुसार जिल्ला फर्किरहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि जुम्लामा तीन वटा हेल्थ डेस्कको व्यवस्था गरिएको छ।

हाललाई चन्दनाथ नगरपालिकामा अवस्थित विमानस्थल, तीला गाउँपालिकाको नाग्मा र हिमा गाउँपालिकामा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रजिअ बञ्जाडेका अनुसार साथै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० क्षमताको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ। त्यस्तै हालसम्म कर्णाली प्राविधिक शिक्षालयमा ३० जना गुठी चौर, पातारासी र हिमा गाउँपालिकामा ६ जनाका दरले राख्न सकिने गरी जिल्लाभरी जम्मा १२८ बेड क्षमताको क्वारेन्टाइनको व्यवस्था भइसकेको छ।

‘विपद व्यवस्थापन समितिले क्वारेन्टाइनमा बस्दा खाने र आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी व्यवस्थापन गर्नेछ’, उनले भनिन्।

आइसोलेशन र क्वारेन्टाइन लागि थप आवश्यक सामग्रीको माग भइसकेको जिल्लाका कोभिड १९ विषयमा सूचनाका लागि खटिएका डाक्टर सुनिल बुढाथोकीले जानकारी दिए। अहिलेसम्म हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउने कसैमा पनि कोरोना भाइरसको लक्षण नदेखिएको उनले बताए।

हालसम्म १ हजार २०९ जनाको जाँच गरिसकेको अवस्थामा कसैलाई पनि लक्षण नदेखिएको तर पनि सेल्फ क्वारेन्टाइनमा बस्न सुझाएको बुढाथोकीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell