
काठमाडौं : नगरकोटमा रहेका ११ होटललाई क्वारेन्टाइनमा प्रयोग गरिने भएको छ। विश्वव्यापी भएको कोभिड १९ को संक्रमण बढ्ने सम्भावना देखिएलगत्तै नगरकोटका होटलमा एक हजार जना राख्न सक्ने गरी व्यवस्थापन मिलाइएको हो।
क्वारेन्टाइन व्यवस्थापन कार्यदलका संयोजक मन्त्री योगेश भट्टराई आज नगरकोट पुगेर व्यवस्थापनको तयारी पूरा गरेको उनका प्रेस संयोजक प्रेम गुरागाईँले जनाएका छन्। सुरक्षाकर्मी र मेडिकल टिमका लागि पनि अलग्गै होटलको व्यवस्था गरिएको छ। आवश्यक परेको खण्डमा नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टाइनमा राख्न सकिने देखिएको छ।
भक्तपुरमा रहेको काठमाडौं मेडिकल कलेजमा पनि क्वारेन्टाइनका लागि ४ सय ५० र आइसोलेसनका लागि ५ वार्ड तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। पशुपतिमा भारतीय सहयोगमा बनेको धर्मशालामा पनि ७० जनालाई क्वारेन्टाइनमा राख्न सकिने भएकाले तयारी अवस्थामा राखिएको छ।