PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना



रासस

जनप्रतिनिधिको सुविधा कटौती गरी आइसोलेशन कक्ष स्थापना
Photo: Google.com/maps

कञ्चनपुर : कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच/पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ।

नगरपालिका-१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नम्बर ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरेको हो। आइसोलेसन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी २० लाख रुपैयाँ बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

‘आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेसन कक्षमा राखिसक्छौँ’, उनले भने, ‘कक्षका लागि स्वास्थ्यकर्मीको दुई टोली तयारी अवस्थामा राखिएको छ।’

आइसोलेसन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोलीसमेत छुट्टै गठन गरिएको नगर प्रमुख ऐरले जानकारी दिए।

भारतमा कोरोना भाइरसको महामारी फैलिएपछि होटेल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपालीहरु धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन कक्ष तयार गरिएको उनको भनाइ छ।

‘भारतबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौँ’, उनले भने, ‘कोरोनाका लक्षण देखा परे तत्कालै एम्बुलेन्समार्फत आइसोलेसन कक्षमा ल्याएर उपचार गर्ने व्यवस्था गरिएको छ।’

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखाले समेत नगरपालिकाका ठाउँ ठाउँमा पुगेर कोरोनाका लक्षण, सर्ने तरिका र यसबाट बच्ने उपायबारे स्थानीय बासिन्दाका घर घरमा पुगेर सचेत गराउने कार्यसमेत गरिरहेको छ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुने तरिकाबारे स्थानीय बासिन्दालाई बताउँदै आएको उपशाखाका सभापति शेरबहादुर साउदले बताए। उनका अनुसार नगरपालिकाका १२ वटै वडामा पुगेर पर्चा पम्प्लेट, ब्यानरबाट सचेतना गर्ने कार्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell