
काठमाडौं: कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति युएई*बाट आएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार अपराह्न मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालमा तेस्रो संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको र उनी चैत ६ गते युएई*बाट आएको जानकारी दिए।
'यहाँ आएर होटलमा बसेका थिए। हिजो धेरै असहज भएपछि अस्पताल भर्ना हुँदा पोजेटिभ देखियो', मन्त्री ढकालले भने, 'उहाँ बसेको होटल, सम्पर्कमा आएका व्यक्तिको विधि पुर्याएर खोजी भइरहेको छ।' मन्त्री ढकालका अनुसार संक्रमित व्यक्तिलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ।
यसअघि फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा उनी दोस्रो संक्रमित थिइन्। पहिलो संक्रमित चीनबाट आएका व्यक्ति उपचारपछि घर फर्किसकेका छन्।
*संक्रमित व्यक्ति बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युएई हुनुपर्नेमा भुलबस अन्यथा जानकारी दिइएको थियो।