PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगरमा लकडाउनको ठाडो उल्लङ्घन, सेना प्रयोग गर्न मेयरको आग्रह

विराटनगरमा लकडाउनको ठाडो उल्लङ्घन, सेना प्रयोग गर्न मेयरको आग्रह

अनन्तराज न्यौपाने/पहिलोपोस्ट


विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरका बासिन्दाले सरकारले गरेको लकडाउनलाई उल्लंघन गरेका छन्। प्रहरीले कडा कदम चाल्न नसक्दा विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेका हुन्।

प्रहरीको दृष्टि र चेक विराटनगरको मेन रोडमा मात्र देखिएको छ। मेनरोडभन्दा भित्रका सडक र चोक–चाकमा स्थानीय बासिन्दा जम्मा भएर गफ हाँकिरहेका छन्। कोही क्रिकेट खेल्दैछन्, कोही सेल्फी खिँच्दैछन् त कोही सडकका पेटीमा मास्क नलगाई बसेर गफिइरहेका छन्।

विराटनगरको मध्यभाग गुद्री बजारमा रमितेको भिड लागेको छ। त्यस्तै, सरौँचिया, मधुमारा, जहदा चोक, घोघापुल चोक, बिएफएम चोक, शान्ति चोक, मिलन चाक लगायतका सबैजसो चोकमा लकडाउनको उल्लंघन गर्नेहरू उल्लेखनीय संख्यामा छन्।

धरान रोडमा ड्युटी गरिरहेका प्रहरीका एक असईका अनुसार बुधवार बिहान १० बजेसम्म बल प्रयोग गरेर भए पनि घरबाट कसैलाई निस्कन नदिने आदेश थियो तर दिउँसो फेरि कसैलाई बल प्रयोग नगर्ने आदेश आयो।

‘हामीलाई सम्झाउने बुझाउने भन्ने आदेश मात्र छ’, ती असईले भने, ‘यता सम्झायो त्यही ग्रुप अर्कातिर गएर बस्छ। सम्झाउँदा–सम्झाउँदा दिक्क भइसकियो।’

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लकडाउनको उल्लंघन गरेर सडकमा निस्किएकालाई प्रहरीले बल प्रयोग गर्न नसक्ने स्पष्ट पारे।

प्रजिअ भुजेलले पहिलोपोस्टलाई भने, ‘यत्रो ठूलो विराटनगरमा थोरै संख्यामा प्रहरी छन्, कता–कता पुग्ने? बल प्रयोग गयो भने फेरि मानव अधिकारको कुरा पनि आउँछ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफू प्रहरीको कारबाहीबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिँदै सेना लगाएर भए पनि लक डाउन सफल पार्नुपर्ने बताए।

प्रमुख पराजुलीले भने, ‘देशमा हेल्थ इमर्जेन्सी लगाएर सेना प्रयोग गरेर लकडाउन गरिनु पर्छ। सम्बन्धित निकायमा म कुरा गर्छु।’



ट्रेन्डिङ पोस्ट

Ncell