
काठमाडौं: सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार पाटन अस्पतालमा गर्ने निर्णय गरेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा विरामीको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि विरामीलाई पाटन उपचार गरिने बताए। 'टेकुमा स्वास्थ्य परीक्षणपश्चात कोरोना संक्रमण प्रमाणित भएमा पाटन अस्पताल उपचार गरिने व्यवस्था मिलाएका छौं', ढकालले बुधबार पत्रकार सम्मेलनमा भने।
मन्त्री ढकालले कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई पनि आफै उत्पादन गर्न सुरु गरेको बताए।
क्वारेन्टाइनका निम्ति पर्यटन मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र त्यसले मापदण्ड बनाउन माथिदेखि तलसम्म कानुन परिमार्जनको काम गर्ने उनले जानकारी दिए।
धेरै अस्पतालले क्वारेन्टाइन क्षमता र सेवाबारे मन्त्रालयसँग सम्पर्क गरिरहेको भन्दै यो सकारात्मक कुरा भएको उनको भनाई छ। 'सम्पूर्ण नेपालीको उपचार गर्ने जिम्मा सरकारले लिन्छ', मन्त्री ढकालले भने।