PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कतारबाट आएका १३ जना प्रहरीको सर्भिलेन्सभित्र, सबै होम - क्वारेन्टाइनमा, बाँकी खोज्दै प्रहरी



पहिलोपोस्ट

कतारबाट आएका १३ जना प्रहरीको सर्भिलेन्सभित्र, सबै होम - क्वारेन्टाइनमा, बाँकी खोज्दै प्रहरी

काठमाडौं : 'हामी चार जना साथी विमानमा सँगै आएका थियौं। समाचार आएपछि मंगलवार नै म अस्पताल गएँ र चेक गराए। तापक्रम पनि नर्मल छ। डराएको छैन, म होम क्वारेन्टाइनमा छु।'

चैत ४ गते कतारको दोहाबाट नेपाल फर्किएका इलामका एक युवकले पहिलोपोस्टसँग भने।

४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन विमानबाट आएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएपछि अहिले त्यो विमानमा आउने यात्रुको ट्र्याक भइरहेको छ।

तर, विमानमा यात्रा गर्नेमा महोत्तरी जिल्लाका मानिसहरु सबैभन्दा धेरै देखिएका छन्। त्यस्तै सप्तरी, धनुषा, काठमाडौं पनि धेरै छन्। सबै गर्दा ३२ भन्दा धेरै जिल्लाका मानिसको पहिचान भएको छ। अहिलेसम्म १ सय ५८ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ। त्यसबाहेक अरुको खोजी जारी छ। यीमध्ये १३ जनाकहाँ प्रहरी पुगिसकेको छ। उनीहरु सबै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, सम्बन्धित वडाका अध्यक्ष समेत गएर होम क्वारेन्टाइनबारे निगरानी राखिराखेका छन्।

अध्यागनम विभागले प्रहरीलाई उपलब्ध गराएको जानकारी अनुसार उनीहरुको पहिचान भइसकेको हो।

'हामीले पाएको विवरणमा उल्लेखित ठेगाना अनुसार स्थानीय प्रहरीलाई खबर गरेका छौं,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले भने।

प्रहरीले १ सय ५८ जनाको ठेगाना मात्र पत्ता लगाएको हो। जसमा ९ जना महिला र बाँकी पुरुष रहेका छन्। तीमध्ये १३ जनाबाहेक अरु भेट्न बाँकी छ। त्यसैले उनीहरुको स्वास्थ्य अवस्थाको पनि पूरा जानकारी मिलिसकेको छैन। प्रहरी विवरणमा उल्लेख गरिएको ठेगानामा पुग्दा सबै भेटिएका छैनन्।

स्थायी ठेगान र बसाइसराइको ठेगाना फरक भएको अवस्थामा प्रहरीलाई मानिस फेला पार्न सकस परिरहेको छ। बसाइसराइको दर्ता पनि नभएको अवस्थामा खोज्न थप कठिन। त्यसैले विमानमा आएकाको पहिचान गर्ने प्रहरीलाई समय लाग्ने देखिन्छ। यी सबै सहजै हुन्थ्यो भने एकै दिनमा सबै विवरण र मानिसहरुकहाँ उनीहरुको अवस्था बुझ्न सकिन्थ्यो।

त्यसैले त्यस विमानमा यात्र गरेका यात्रुहरु नै समाचार र जानकारीको आधारमा सम्पर्कमा आउँदा प्रहरीलाई केही सहज भएको छ। प्रहरीमात्र होइन, ती यात्रु र उनका आफन्तहरुका लागि पनि यो सबैभन्दा उत्तम उपाय बनेको छ।

'समस्या त्यही हो। घर झापा तर कही गएको भए कसरी पुग्ने? परिवारले सम्पर्क दिएपनि समय लाग्ने देखिएको हो,' डिआइजी थापाले भने।

'यात्रुको घरमा नै पुगेको सङख्या कम छ। ठेगाना पहिचान भइसकेको छ। अरु खोज्दै छौं,' डिआइजी थापाले भने।

आखिर बाँकीको विवरण कहाँ गयो त? विमान आएकामध्ये केही विदेशी भएकाले पनि उनीहरुको ठेगना पहिचान भइसकेको छैन। विदेशी नागरिकले नेपाल भित्रिएपछि आफू जाने र बस्ने ठाँउको जानकारी विवरण भर्नुपर्छ। तर, उनीहरु भनेको होटेलबाट निस्किसक्नु, विवरण पूरा भर्ने परिपाटी नहुँदा समस्या देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell