
काठमाडौं : नेपाली एप्लिकेसन ‘हाम्रो पात्रो’ले भिडियोमार्फत् डाक्टरसँग परामर्श लिन ‘एनसेल कल टु डाक्टर’ सेवा शुरुवात गरेको छ। नेपाल चिकित्सक संघ र एनसेलसँगको सहकार्यमा घरमै बसी कोरोना भाइरस (कोभिड १९) सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव दिन यो सेवा शुरु गरेको हो।
अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून् भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताए।
कोरोना भाइरसको लक्षणसँग मिल्दो समस्या देखिएका वा सङ्का लागेको खण्डमा हाम्रो पात्रोमा गइ यो सेवा लिन सक्छ। आफ्नो समय अनुसार अनलाइन रहेका डाक्टरहरुलाई भिडियो कल गर्न ‘डाक्टरलाई कल गर्नुहोस्’ सुविधा रहेको छ।
आम मानिसले राखेको जिज्ञासा र समस्या अनुरुप नेपाल चिकित्सक संघमार्फत जुटेका डाक्टरहरुले आवश्यक सल्लाह तथा सुझाव दिनेछन्।
हाम्रो पात्रोले जारी गरेको विज्ञप्तीमा लेखिएको छ,’यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिन र अहिलेको यस वैश्वीक स्वास्थ्य संकटका सहारा रहेका डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि प्राथमिकता दिइनेछ भन्ने आशा छ।‘
सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउन घोषणा गरेको छ। यस्तोमा आपतकालिन् बाहेक अन्य स्वास्थ्य सेवा उपलब्ध हुन मुश्किल छ। त्यस्तोमा घरमै बसेर संक्रमणको सम्भावना न्यून गर्न यो सेवा शुरु भएको समेत बताइएको छ।
साथै हाम्रो पात्रोले यस अभियानमा जुटेर घरमै स्वास्थ्य परामर्शका लागि स्वयं सेवा गर्न इच्छुकलाई [email protected], [email protected], [email protected] मार्फत् सम्पर्क गर्न आह्वान समेत गरेको छ।