विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको छ। जसको प्रभाव मानिसको दैनिकीमा प्रत्यक्ष रुपमा परेको छ। प्राय बलिउड कलाकारपनि फूर्सदिला भएका छन्। उनीहरु सामाजिक सञ्जालमार्फत् आफ्नो दैनिकीको जानकारी दिने र कोभिड १९ विरुद्ध सावधानी अपनाउन सन्देश प्रवाह गर्दैछन्।
भिडियोमार्फत् बलिउड स्टारदेखि चर्चित जोडीहरुले कोभिड १९ विरुद्ध सावधानी अपनाउन अपिल गरिरहेका छन्। फिल्म ‘राधे’ छायांकन स्थगनले ठूलै आर्थिक क्षति भोगेका सलमान खान पनि हाल सरकारले घोषणा गरेको ‘लकडाउन’को समर्थन गर्दैछन्। उनी ‘सामाजिक दूरी कायम गरौं’ भन्ने सन्देश प्रवाह गर्दैछन्। भनेका छन्,’यो एकदम गम्भिर मामला हो। त्यसैले हात धुनुस्, मास्क लगाउनु, सफा रहनुस्, मानिसहरुबाट टाढा रहनुस्।‘
त्यस्तै अर्का स्टार शाहरुख खानले पनि घरभित्रबाटै चेतनामूलक भिडियो सन्देश सार्वजनिक गरेका छन्।
प्रियंका चोपडाले बुधबार इन्स्टाग्राममार्फत् विश्व स्वास्थ्य संगठनका प्रवन्ध निर्देशक डाक्टर टेडरस र डाक्टर मारिया भान करकोभसँग लाइभ कुराकानी गरिन्। उनीहरुले कोरोना भाइरस सम्बन्धी लक्षण, समस्या र त्यसको समाधान आदिका बारे छलफल गरेका थिए। जसमा प्रियंकाका श्रीमान निक जोनस पनि जोडिए। प्रत्यक्ष कुराकानीमा डाक्टरले यस त्रासदीपूर्ण घडीमा घरभित्र रहनुको विकल्प नभएको बताएका थिए।
प्रियंकाले आम दर्शकले राखेका कोरोना सम्बन्धी जिज्ञासा र प्रश्नहरु डाक्टरहरुलाई सोधेकी थिइन्। उनीहरुले उक्त प्रश्नहरुको सम्बोधन गरे।
अर्को चर्चित जोडी विराट कोहली र अनुष्का शर्माले पनि दर्शक र शुभचिन्तकलाई कोभिड १९ नियन्त्रणमा एकअर्काको साथ दिन अपिल गरे। उनीहरुले पनि इन्स्टाग्राममार्फत प्रत्यक्ष दर्शकसँग जोडिएर लकडाउनका नियम पालना गर्न आग्रह गरेका हुन्। भने,’भारतलाई यस भाइरसविरुद्ध लड्न समय र साहस दुवैको खाँचो छ। हालका लागि भने यो २१ दिने लकडाउनलाई गम्भिर रुपमा लिएर नियमको पालना गरौं।‘