सुर्खेत : नोवेल कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा प्रतिकार्यका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ अवज्ञा गर्ने सुर्खेतका १४२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। ‘लकडाउन’ उल्लंघन गर्ने सुर्खेतका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ९२ थान रहेका छन्।
‘लकडाउन’को दोस्रो दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४०, ईलाका प्रहरी कार्यालय छिन्चुले १८, लेकबेसीले ८, बाबियाचौर १३, अस्थायी प्रहरी चौकी गोठीकाँडाले ११, प्रहरी चौकी सुब्बाकुनाले १५, बड्डीचौरले २३ र बाङ्गे सिमलले १४ गरी जम्मा १४२ सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
नियन्त्रणमा लिइएका सवारी साधनहरु ‘लकडाउन’ अवधिभर जिल्ला प्रहरी कार्यालयमा राखिने उनले बताए। सूचना अधिकारी रायमाझी अनुसार ‘लकडाउन’को पहिलो दिन मंगलबार सुर्खेतमा ३३५ सवारी साधन नियन्त्रणमा लिइएको थियो। जसमा मोटरसाईकल मात्र २३७ थान थिए।