सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ। केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमाडौं पठाइएको छ।
उनीहरुलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। मंगलवार विभिन्न हेलिकोप्टरमार्फत छ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चार जनाको उद्धार गरिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार आज उद्धार गरिएका पाँचै जना रसियन नागरिक हुन्। अधिकांश लेक लागेर बिरामी परेका छन् भने केहीलाई चोटपटकसमेत लागेको छ। लुक्ला प्रहरीले दिएको तथ्यांकअनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक छन्।
नेपाल सरकारले कोरना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरेपछि करिब ३०० पर्यटक खुम्बु क्षेत्रमानै अलपत्र परेका छन्। अलपत्र परेका पर्यटकलाई कुनैपनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचार गर्नुपर्छ। यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरुका सहयोगीसमेतको थप उपचारको लागि हेलिकोप्टरकै प्रयोग गरी काठमाडौं लाने गरिएको छ।