PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जर्मनीबाट एक नेपालीको प्रधानमन्त्रीलाई खुला पत्र, नर्स दिदीलाई दायित्ववोध गर्न आग्रह



पहिलोपोस्ट

जर्मनीबाट एक नेपालीको प्रधानमन्त्रीलाई खुला पत्र, नर्स दिदीलाई दायित्ववोध गर्न आग्रह

  • एलिजा हुमागाईँ -

 

म जर्मनी आइपुगेको चार वर्ष लाग्यो। कोरोनाको महामारी सुरु हुनुभन्दा पहिले युरोपको राजनीति बुझ्नुपर्छ भन्ने कहिल्यै लागेन। म पढ्न आएको मान्छे हुँ। पढ्छु, फर्कन्छु भन्ने अझै छ मनभित्र। भिसा एक्स्टेन्ड गर्ने बेला हरबखत यहाँको सरकारी कार्यालयहरूमा अनेक समस्या झेल्नुपर्छ।  

कोरोना सुरू भएको पहिलो दिनदेखि नै म न्युज फलो गरिराखेको छु।

चीनमा महामारी फैलिँदा विश्व स्वास्थ्य संगठन हतारमा निर्णय गर्न नखोजेर विश्लेषण गरी बस्यो। जुन एक हिसाबले सही पनि थियो। म मेरा नजिकको साथी सर्कलमा कोरोनाको मात्र कुरा गर्थेँ। मेरा साथीहरूले तँलाई थाहा छ, तँ जान्दछेस् मात्र भनिरहे। नतिजा कति भयानक छन् भन्नेमा कसैको ध्यान नै गएन।

युरोपमा कोरोना फैलिन सुरू हुँदा जर्मनी तताउने दुई समाचार आए। एउटा ग्रीस-टर्कीको सीमाका सिरियाली शरणार्थी र अर्को जर्मनीको हानाउ शहरमा भएको आक्रमण।

जर्मन चान्सलर मर्केलले स्वास्थ्य मन्त्रीलाई  कोरोना क्राइसिस म्यानेजमेन्टको जिम्मा सुम्पिदिइन्। त्यसै समय कोरोना इटालीमा फैलिँदै गयो र विश्वका कुनै देश अछुतो रहेनन्। विश्व स्वास्थ्य संगठनले यसलाई अन्ततः विश्व महामारी घोषणा गर्‍यो। जर्मनीका स्वास्थ्यमन्त्री अझै भन्दै थिए, हामी तयार छौँ।

यो जनस्वास्थ्य र जनचासोको विषय त थियो नै, सँगसँगै हामीले भोलि बाँच्ने विश्वको निर्धारण गर्दै थियो। बडा-बडा देशका राजनीतिज्ञ, वैज्ञानिक, अर्थशास्त्री, वुद्धिजीवी यो लडाईँमा होमिएका छन्। चीन मार खेपेर अझै पनि 'युद्ध मैदान'मै छ।

अमेरिका, फ्रान्स, युके, स्पेन, जर्मनीलगायतका राजनीतिज्ञ देश, जनता र भविष्य बचाउन होमिइरहेका छन्। साना तथा मझौला व्यापारी, विद्यार्थी, ठूला व्यापारी, बैंकिङ, वाणिज्य क्षेत्रलाई घाटा नहोस् भनेर दुई दिन बैठक बसेर कानुन नै पारित भयो जर्मनीमा।

हाम्रो देशको के योजना छ? महामारी नियन्त्रणका लागि कति समिति र नियम बनेका छन्? साना तथा मझौला व्यापारीहरूको अवस्था के छ? यसले देशलाई कत्तिको असर पर्न सक्छ? पूर्व तयारीका ढाँचा केकस्ता छन्? यी विविध कुरामा ध्यान राखेर सरकारले जनचेतनामूलक काम गरोस् र तयारीको थालनी गरोस्‌ भन्ने अपेक्षा छ। सरकारले भ्रामक सूचनापछिको सत्य जनता सामु ल्याउनु अत्यावश्यक पनि छ।

दिदीलाई पनि सुझाव

मेरो दिदी रजिस्टर्ड नर्स। उत्कृष्ट अंक हासिल गरेर लाइसेन्स निकालेकी। काठमाडौँको गन्यमान्य अस्पतालमा कार्यरत पनि थिई। उसलाई एउटा भाइरसले के गर्छ भन्ने कुरा पढाइएको छ छैन भन्ने कुराको खबरदारी मैले कहाँ गएर गर्न मिल्छ? हामीलाई जर्मनीमा बाटोमा कसैलाई गाह्रो भएको अथवा सन्चो नभएको देखेँ, कसैलाई डाक्टर अथवा नर्सको सहयोग चाहिएमा मैले मेरो दिमाग र दिल लगाएर म ड्युटीमा नभए पनि काम गर्नेछु भन्ने प्रतिबद्धता गर्न लगाइन्छ। अथवा यस्तो दायित्ववोध गराइन्छ। नेपालमा यो कुरा सिकाइन्छ कि सिकाइन्न?

एउटा डाक्टर र नर्सले महामारीको बखतमा आफूलाई कत्तिको उत्तरदायी सम्झन्छन्? म नेपालमा कोरोना नफैलिओस् भन्ने चाहान्छु। मेरो पहुँचमा भए त यो सबै रोकियोस्, कसैलाई केही नहोस् भन्थेँ।

यसको रोकथाम गर्न युरोप र अमेरिकाका डाक्टर र नर्सलाई गाह्रो पर्दैछ। हामी हरेक दिन गाह्रोतर्फ धकेलिँदै छौँ। नेपालले यसलाई भाँडाकुँटीको रूपमा होइन भाइरसको रूपमा लिइदिओस्। यो स्थिति भयावह छ। यो रोगले तरूण, वयस्क केही भनेको छैन। तथ्याङ्कहरुलाई हेर्ने गरौँ, विश्लेषण गरौँ। हामी नडराइ सामना गरौँ। बुद्धिमत्तापूर्वक काम गरौँ। नेपालमा भाइरस फैलिए यसको जवाफदेही हामी आफैँ हुनुपर्छ। भारतले जतिबेला पनि नाकाबन्दी गरिदिन सक्छ। बिन्ती, नेपालमा भाइरस फैलिन नदिन हरेक नागरिकले जिम्मेवारीवोध गरिदिउँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell