PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

बेइजिङमा रहेको दूतावासले नेपालीसँग माग्यो विवरण, ८ हजारमा १२ सयले मात्र बुझाए जानकारी



पहिलोपोस्ट

बेइजिङमा रहेको दूतावासले नेपालीसँग माग्यो विवरण, ८ हजारमा १२ सयले मात्र बुझाए जानकारी

काठमाडौं: कोभिड-१९ को महामारी फैलिएसँगै बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीहरुसँग सम्पर्कलाई बढाउँदै गएको छ। कोभिड-१९ को आउटब्रेक इपिसेन्टर हुवेइ प्रान्तमा रहेका १७५ जना नेपालीलाई उद्धार गरी नेपाल फर्कायो।

सँगै दूतावासले अन्य स्थानमा रहेका नेपालीहरुको लगत संकलनका लागि अनलाइनबाट आवेदन खुला गर्‍यो। फेब्रुअरी २८ (फागुन १६ गते) दूतावासले सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेपछि अपेक्षाअनुरुप भने नेपाली सहभागी नभएको दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

उनका अनुसार हालसम्म एक हजार दुई सयको हाराहारीमा मात्र आवेदन परेको छ। 'हामीले अपेक्षा गरेअनुरुप संकलन हुन सकेको छैन। आवेदन दिएकाहरुको लगतलाई व्यवस्थित गर्ने काम गरिरहेका छौँ,' उनले पहिलोपोस्टसँग भने, 'अझै पनि हामीले आवेदन लिइरहेका छौँ। हामी नेपालीहरु अन्तिम समयमा हतारिन्छौँ। भर्दै गरौँला भनेर बस्छौँ।'

दूतावासले चीनमा रहेका र बिदामा वा कोभिड-१९ को संक्रमण फैलिएसँगै नेपाल फर्किएकाहरुलाई पनि आवेदन भर्न भनेको थियो।

चीनमा सात हजार विद्यार्थी तथा एक हजार विभिन्न पेसा व्यवसाय तथा काममा रहेका गरी आठ हजार नेपाली रहेको अनुमान छ। कोभिड-१९ को संक्रमणपछि कति नेपाल फर्किए र कति चीनमै छन् यकिन तथ्यांक छैन। तथ्यांक राख्नका लागि दूतावासले आवेदन आह्वान गरेको हो।

दूतावासले चीनमा रहेका नेपालीलाई छिटो छरितो सेवा प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बेइजिङस्थि नेपाली दूतावास एवम् ग्वाञ्जाओ‚ ल्हासा‚ हङकङ र सांघाईका नेपाली वाणिज्य दूतावासहरुमा हटलाइन सेवासमेत स्थापना गरेको छ।

चीनमा रहेका नेपालीहरुको गुनासो सुन्न स्थापित हटलाइन सेवा

१ नेपाली दूतावास, बेइजिङ द्वितीय सचिव दीपक विक फोन नं. १५६५०७२००६९

२ नेपाली महावाणिज्य दूतावास, ग्वाञ्जाओ वाणिज्यदूत कुञ्जन शाह, फोन नं. १३३१०८८४८८०

३नेपाली महावाणिज्य दूतावास, ल्हासा वाणिज्यदूत जिम्सन रुम्दाली राई, फोन नं. १८८८९०९७७३०

४ नेपाली महावाणिज्य दूतावास, हङकङ वाणिज्यदूत किरण गुरुङ, फोन नं. (८५३) ५६२४९०६७

५ अवैतनिक नेपाली वाणिज्य दूतावास, सांघाई जेनेट लि, फोन नं. १३८१८३६९५५९

दूतावासले अनलाइन मार्फत http://www.wjx.cn/m/60612057.aspx मा क्लिक गरेर वैयक्तिक विवरण फाराम भर्न सक्ने व्यवस्था गरेको छ।

संकलित विवरणका मद्दतले दूतावासलाई चीनमा रहेका नेपालीलाई कन्सुलर सेवा प्रदान गर्न सहज हुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell