PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जनता लकडाउनमा, सरकार होइन ! [सम्पादकीय]



पहिलोपोस्ट

जनता लकडाउनमा, सरकार होइन ! [सम्पादकीय]

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ट्विट गर्दै सबैलाई घरमै बस्न आग्रह गरे। सँगै भने - म पनि घरमै बसेर सरकार चलाइरहेको छु।

प्रधानमन्त्री ओलीको आशय देशवासी सुरक्षित हुन् भन्ने होला तर घरमै बसेर देश चलाउने अभिव्यक्तिले अर्को पनि संदेश प्रवाह भएको छ- सबैले घरमै बसेर देश चलाउने हो त उसो भए? संदेश र अर्थबीच अन्तर हुन्छ भन्ने पक्कै पनि प्रधानमन्त्रीको ट्विटर ह्यान्डल चलाउनेले बुझेको हुनुपर्ने हो।

रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, पर्यटन मन्त्री योगेश भट्टराई र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि यसैगरी घरबाटै मन्त्रालय चलाइदिन थाले भने के होला? परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले घरबाटै पराष्ट्रको मामिला हाँक्न थाले भने? त्यसो त विना मगरले घरमा सन्तान स्याहार्दै मन्त्रालय चलाएकी नै छिन्। अरुले पनि त्यही 'पथ' रोज्न थाले के होला? नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त साइकल चढेर - होलिडे मुड सार्वजनिक गरिसकेका छन्। कोरोनाको कहरमा यही हो अब 'प्रचण्ड पथ'?  

सुरक्षाकर्मी सुख्खा चाउचाउ खाँदै सडकमा खटिएका छन्। तिनीहरुसँग मास्क र स्यानिटाइजरसमेत देखिन्न। चिकित्सकहरु अस्पतालमा खटिएका छन् उनीहरु पनि संशयमा कोरोनाको संक्रमण बढेर विरामीको संख्या बढ्यो भने के गर्ने? यस अवधिमा हामीले भेटेका अधिकांश चिकित्सकहरुको मनोदशा एकै देखियो। स्वास्थ्यकर्मीहरु पनि यस्तै चिन्तनबाट ग्रसित छन्। उनीहरुलाई थाहा छ - भय देखाउन मिल्दैन, भयबाट बच्ने सामल अपूरो छ। अस्पतालमै स्यानिटाइजर र मास्कको अभाव छ। महत्वपूर्ण शल्यक्रिया नगर्दै विरामीहरुलाई अस्पतालबाट घरतिर पठाउन परेको छ। अस्पताल रित्याएर कोरोनाको कहरको प्रतीक्षा गर्नु कम भयपूर्ण अवस्था होइन।

त्यसमाथि चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीईको अभाव छ। कोरोनाको उपचारमा खटिएका चिकित्सकहरु नै विभिन्न देशमा संक्रमित भएको र ज्यान समेत गुमाएको समाचारबारे जानकार छन्। त्यसले उनीहरुमाथि थप भय उत्पन्न भएको छ।

गृह प्रशासनले आवश्यक खाद्यान्नका पसल खुला गर्न भनेको छ। त्यही मन्त्रालयले मातहतका प्रहरीलाई परिचालन गरेर मानिसलाई हिँड्न रोक लगाएको छ। पसल खोल्नु र मानिसलाई रोक्नुबीचको तादम्यता कसरी मिलाउने चिन्तन भएको देखिन्न। हुनेखानेले त कोरोना संक्रमणको संकेतसँगै केही समयलाई धान्नेगरी स्टोर गरिसके, खाद्यान्नदेखि इन्धनसम्म। हुँदाखाने र दैनिक ज्यालादारी गर्नेलाई कसरी सम्बोधन गर्ने मन्थन कहाँ भइरहेको छ पत्तो छैन।

विभागीय मन्त्रालयभित्रै कोअर्डिनेसन कस्तो छ भन्ने त हिजोमात्रै स्वास्थ्य मन्त्रीले गरेको पत्रकार सम्मेलनमा देखियो। स्वास्थ्य मन्त्री नै गलत सूचनाको सिकार भए। उनकै विभागीय मन्त्रालय मातहतको प्रयोगशाला र स्वास्थ्य सेवा विभागबीच नै तालमेल हुन्न, विभाग र मन्त्रालयबीच नै तालमेल हुन्न भने त्यो भन्दा दुखद् पक्ष के होला?

सरकारका अधिकांश मन्त्रीहरु आफैँ त्रासमा छन्। कतिपय त 'होलिडे मुड'मै होलान्। सरकारमात्र के प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्षी दलको हालत पनि उही हो। एउटा गगन थापा र अर्को विश्वप्रकाश शर्माले गर्ने चिन्तनले नेपाली कांग्रेसलाई थेग्न सक्दैन। शेरबहादुर देउवा कोरोनाको यो कहरमा कतै पनि 'सिन'मा देखिएका छैनन्। दायित्वबोध यतिखेर अरु दलका नेताहरुमा पनि देखिन्न। विपक्षी नेतृत्वले आफूलाई लडाकुका रुपमा उतार्नुपर्ने अवस्थामा 'घरमै लकडाउन' रहेर देश चलाउने मुडमा छन् उनीहरु पनि।

प्रधानमन्त्री विरामी छन्। तर, आफ्नै क्याबिनेटका वरिष्ठ सदस्यहरुलाई पत्याइरहेको पनि देखिन्न। देखिन्थ्यो भने अहिलेकोजस्तो हालत हुने थिएन। जबरजस्ती बलियो छु भन्ने देखाउने 'अहम्' छाडेर आफ्नै मन्त्रिपरिषदका सदस्यलाई थप जिम्मेवारीसहित मैदानमा उतार्न र हौसला दिने जिम्मेवारी उनकै हो। घरमै बसेर देश चलाइरहेको संदेश प्रवाहको कुनै औचित्य छैन। प्रधानमन्त्रीले भने झै सबै मानिस घरमै बसुन्। ठीक हो। तर, उनलाई पछ्याउँदै मन्त्रीहरु होलिडे मुडमा नबसुन्। संकटमै आफूलाई काबिल नेता बनाउने अवसर छ। त्यसलाई खेर नफालौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell