
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार 'भर्च्युल' पत्रकार सम्मेलन गरे। कोरोना भाइरसको संक्रमण, रोकथाम र नियन्त्रण तयारीबारे जानकारी दिन साँझ ४ बजेर १५ मिनेटमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले विभिन्न सूचना सार्वजनिक गरे। सञ्चारकर्मीको ध्यान कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्तिबारे आउने जानकारीमा थियो।
मन्त्री ढकालले सुरुमै तेस्रो संक्रमित व्यक्तिबारे जानकारी दिए, 'चैत ६ गते कतारबाट आएका ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। उहाँको घर धादिङ हो। यहाँ आएर होटेलमा बसेका थिए। हिजो (मंगलबार) धेरै असहज भएपछि अस्पताल भर्ना हुँदा पोजेटिभ देखियो।'
आधिकारिक व्यक्ति मन्त्रीले नै कतारबाट आएको विस्तृत जानकारी दिएपछि अधिकांश सञ्चारमाध्यमको हेडलाइन बन्यो, 'तेस्रो संक्रमित व्यक्ति कतारबाट आएका थिए'।
त्यसो त पत्रकार सम्मेलनअघि नै मन्त्रालयको वेबसाइटमा थप एक जनामा कोरोना संक्रमण देखिएको संक्षिप्त सूचना सार्वजनिक गरिएको थियो। अधिकांश सञ्चारमाध्यमले सोही सूचनालाई आधार मान्दै थप एक जना संक्रमित भन्ने समाचार पहिल्यै बनाइसकेका थिए। तर, केही सञ्चारमाध्यमले भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको उच्च स्रोतको हवाला दिँदै विस्तृत समाचार प्रकाशन गरे। जसमा संक्रमित व्यक्ति युएई (दुबई) बाट आएको उल्लेख थियो।
सञ्चारमाध्यममा दुईथरी समाचार प्रकाशित भयो। अधिकांशले स्वास्थ्य मन्त्रीले दिएको सूचनाका आधारमा कतारबाट आएको भन्दै लेखे भने केहीले उच्च स्रोतको हवाला दिँदै युएईबाट आएको लेखे। यसबाट 'अडियन्स' अलमलमा परे।
दुईथरी समाचार आएपछि मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्यो। जसमा ती संक्रमित व्यक्ति कतारबाट नभई युएईबाटै आएको भन्दै सच्यायो। अन्ततः मन्त्रीले दिएको सूचना नै गलत पर्यो। ती व्यक्ति युएई सारजाहबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ३५३७ बाट काठमाडौँ आएको खुल्यो।
कुरा चेन अफ कमाण्डको, प्रवाह गलत सूचना
पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री ढकालले चेन अफ कमाण्डको कुरा पनि गरे। कोरोना भाइरसबारे जथाभाबी सूचना दिएर सबै प्रवक्ता बनिरहेको भन्दै मन्त्री ढकालले त्यसलाई व्यवस्थित गरिएको बताए।
'अस्पतालमा स्वतःस्फूर्त सबै व्यक्तिहरू प्रवक्ता बन्ने परिपाटीलाई अन्त्य गरेर संक्रमणकालीन रोगको बारेमा सरकारले जारी गरेको आदेशानुसार चेन अफ कमाण्डमा नै सञ्चालन गर्ने विधिभित्र विगतका भएका कमीबाट शिक्षा लिँदै हामीले व्यवस्थित गरेका छौँ', मन्त्री ढकालले भनेका थिए।
उनले यसो भनिरहँदा आफैँले गलत सूचना दिएको भेउ पाएनन्। अस्पतालको सूचनालाई चेन अफ कमाण्डमा व्यवस्थित गरेको बताउने मन्त्रीलाई नै गलत सूचना दिइयो र त्यहीँ सूचना उनले मिडियालाई ब्रिफ गरे। विगतका कमीकमजोरीबाट शिक्षा लिएको बताउने मन्त्री ढकाल सूचनाका मामिलामा आफैँ कमजोर देखिए।