PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इटालीको चर्चित गीत 'मेरो जीवन तिमीसँग जोडिएको छ' लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली

इटालीको चर्चित गीत 'मेरो जीवन तिमीसँग जोडिएको छ' लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली

पहिलोपोस्ट /पहिलोपोस्ट


चीनले स्वास्थ्य विज्ञसहितको तेस्रो टोली इटाली पठाएको छ। बुधवार १४ स्वास्थ्य विज्ञसहितको टोली पूर्वी चीनको पुजिन प्रान्तबाट इटालीका लागि उडेको हो। यो टोली बुधवार नै इटाली पुगेको छ।

टोलीमा फुजिनका विभिन्न अस्पतालका विज्ञ चिकित्सकसहित त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका विज्ञहरु सहभागी छन्। राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारी रोग विशेषज्ञ पनि टोलीमा सहभागी छन्।

टोलीले इटालीमा कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि चिनियाँ अस्पतालहरुमा प्रयोग भएको उपाय तथा अनुभव त्यहाँ प्रयोग गर्नेछ। यस टोलीले इटालीको तुसकानी क्षेत्रमा काम गर्ने जनाइएको छ।

उनीहरुलाई बोकेर उडेको विमानमा ८ टन मेडिकल सहयोग सामाग्रीसमेत छ। जसमा ३० वटा भेन्टिलेटर, २० सेट मेडिकल मोनिटर, तीन हजार प्रोटेक्टिभ सुट, तीन लाख मेडिकल मास्क, २० हजार एन ९५ मास्क र तीन हजार फेस सिल्ड रहेका छन्।

यसअघि चीनले इटालीमा विज्ञसहितको दुई वटा टोली पठाइसकेको छ। जसमा २२ जना विज्ञ र २० टन बराबरको मेडिकल सामाग्री थियो।

हालसम्म इटालीमा सात हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ। यहाँ ७४ हजार ३ सय ८६ जना संक्रमित भइसकेका छन्। मृत्युको आँकडा चीनभन्दा दोब्बर पुग्न लागेको छ। भने संक्रमितको संख्या चीनको भन्दा ८ हजारमात्र कम रहेको छ।

चीन सरकारले हालसम्म ८२ देशलाई स्वास्थ्य सहयोग पुर्‍याउने घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठन तथा अफ्रिकन युनियनलाई परीक्षण किट, मास्क तथा प्रोटेक्टिभ किट सहयोग गर्ने उनले जनाइसकेको छ।

यता सांघाइमा रहेको फोसुन फाउन्डेसनले इटालीका लागि स्वास्थ्य सामाग्री पठाएको छ जसमा प्रोटेक्टिभ सुट, मेडिकल ग्लोभ्स, एन ९५ मास्कसहित स्वास्थ्य सामाग्री छ। इटालीको गीत 'ला भिटा मिया लेगाट अ टे (मेरो जीवन तिमीसँग जोडिएको छ)' भन्ने नारा सहित इटालीका ८ वटा अस्पतालमा यी सामाग्री पुर्‍याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell