PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लौरोले ठटाउँदै सडकमै उत्रिए मेयर, भन्छन् : लास उठाउनुभन्दा त्रास देखाउनु ठीक



सविन ढकाल

लौरोले ठटाउँदै सडकमै उत्रिए मेयर, भन्छन् : लास उठाउनुभन्दा त्रास देखाउनु ठीक

काठमाडौं : एक पुरुष मुखमा मास्क अनि हातमा लौरो लिएर सडकमा हिँड्ने मानिसलाई ठटाइरहेको दृष्य छ। उनको पछिपछि अरु केही सुरक्षा गार्ड जस्ता देखिने मानिस लौरौ नै लिएर मानिस खेदाउन लागेका छन्।

सरकारले मंगलवारदेखि देशभर नै लकडाउन घोषणा गरेपछि घरबाहिर निस्किन दिएको छैन। सडकमा निस्किएका मानिसलाई प्रहरीले धमाधम घर तथा कोठामा फर्काइरहेको छ।

तर, त्यसरी लाठी नै हिर्काउँदै हिँड्ने पुरुष कुनै पनि हिसाबले सुरक्षाकर्मी देखिँदैनन्। जिन्सको पाइन्ट र क्यापमा देखिएका छन् उनी। बुधवारदेखि यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ। कसैले उनलाई गाली गरेका छन् कसैले ताली। भिडियोमा भाइरल उनी हुन् मोरङको उर्लावरी नगरपालिकाका मेयर खड्गबहादुर फागो।

लकडाउनको उल्लङ्घन गरेपछि उनी आफैँ सडकमा उत्रिएर कारबाहीमा लागेका हुन्। त्यसैले उनी अहिले भाइरल छन्।

'कसले के कमेन्ट गर्छ भन्ने आशा छैन। मानव सभ्यता नै समाप्त होला जस्तो भइसकेको छ। हाम्रो जस्तो मुलुकमा भाइरस आए के हुन्छ? केही पूर्वधार छैन। त्यसैले मानिसलाई सचेत गराएको हुँ,' लाठी किन ठोकेको भनेर पहिलोपोस्टले गरेको प्रश्नमा मेयर फागोले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरमै बसेर सरकार चलाइरहेको र सबैलाई घरमा नै बस्न आग्रह गरिरहेका छन्। त्यसैले धेरै मन्त्री, नेता लगायत अन्य मानिस घरमा नै छन्। मेयर फागोले भने घरमा बसेर बालबच्चासँग खेल्न मन भएको भए पनि बाध्यताले निस्किनु परेको बताए।

'मलाई पनि बालबच्चासँगै घरमा नै बस्न मन नभएको होइन। तर, जनप्रतिनिधि भएपछि दुई चार जनाको कारण समुदाय नै असरमा पर्‍यो भने के गर्ने भनेर मात्र सडकमा उत्रिएको हुँ,' फागोले भने।

उनले सडकमा दौडिएका मोटरसाइकल, रिक्सा लगायत मानिसलाई लौरो लगाएर घर भित्र पठाइरहेको देखिन्छ। कतिलाई सम्झाएर पनि पठाएका छन्। सुरुमा सम्झाएको तर नमानेपछि लौरो लगाएको उनको तर्क छ।

'सुरुमा सम्झाएको हो तर मानेनन्। त्यसैले पछि कोरोनाले मृत्यु भएर लास उठाउनुभन्दा त्रास देखाएर सचेत बनाउनु ठीक लाग्यो,' मेयर फागोले भने।

सुरक्षाकर्मीले अनुमति नलिइ सडकमा निस्किने मानिसलाई फटाफट कारबाही गरिरहेको छ। यसरी सडकमा निस्किने धेरै युवा वर्ग रहेको देखिन्छ। मेयर फागो पनि युवा र काम नभएकाहरु नै सडका निस्किएको बताउँछन्।

'खैनी, चुरोट, गुट्खा खानेहरुको समूह धेरै छ। जसको काम छै उनीहरु समूह बनाएर हिँडेका छन्,' मेयर फागोले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell