PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विदेशी पर्यटकलाई काठमाडौंमा भेला गरिँदै, खर्च सकिएकालाई बोर्डकै बजेट, ठमेलमा रहेकालाई एयरपोर्ट नजिक सारिने



वसन्तराज उप्रेती

विदेशी पर्यटकलाई काठमाडौंमा भेला गरिँदै, खर्च सकिएकालाई बोर्डकै बजेट, ठमेलमा रहेकालाई एयरपोर्ट नजिक सारिने
ट्रेकिङमा रहेका पर्यटकको फाइल फोटो। प्रतीकात्मक रुपमा मात्र यसको प्रयोग गरिएको हो।

काठमाडौं : नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार नेपाल पर्यटन बोर्डले देशका विभिन्न ठाउँमा रहेका विदेशी पर्यटकहरुलाई काठमाडौं ल्याउन सुरु गरेको छ।

काठमाडौं ल्याउन लागिएका पर्यटकहरुलाई सरकारले भने बमोजिम त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल नजिककै होटलमा राखिने तयारी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।

उनका अनुसार यसरी होटलमा राखिने विदेशीसँग पैसा नभएको अवस्था रहे बोर्डले आफ्नै खर्चमा केही समयका लागि खान/बस्ने सुविधा दिने योजना छ।

‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विभिन्न ठाउँमा भएका पर्यटकलाई काठमाडौं ल्याउनका लागि गृहकार्य सुरु गरिसकेका छौँ,' रेग्मीले भने, 'काठमाडौंको बसाईँ अवधिभरका लागि उनीहरुसँग खर्च नभएको अवस्थामा बोर्डले आफ्नै खर्चमा सहयोग गर्नेछ।’

बोर्डले यतिखेर मकालु बरुण, सोलुखुम्बु लुक्ला, कन्चनजंघा लगायतका स्थानमा रहेका विदेशी पर्यटकलाई काठमाडौं ल्याउने तयारी गरेको हो।

प्राय पर्यटकहरु १८ दिन अगाडिदेखि नै लामो दुरीको ट्रेकिङ रहेको जानकारी पाएको उनले बताए। उनका अनुसार हालसम्म जोमसममा ४० विदेशी र २० नेपाली पर्यटक छन्। यसैगरी लुक्लामा एक सय जना विदेशी पर्यटक रहेका छन्। कन्चनजंघामा दुई जना विदेशी पर्यटक छन्। प्राय: युरोप, अमेरिकाबाट आउने पर्यटकलाई उद्धार गर्नैपर्ने अवस्था रहेको उनले जानकारी दिए।

उनका अनुसार जर्मन एम्बेसीको समन्वयमा शुक्रबार फ्रान्सबाट जहाज मगाएर १७ दिन अघि देखि ट्रेकिङमा गएका विदेशी पर्यटकलाई फर्काउने तयारी भइरहेको छ।

'१७ दिन भन्दा अघिदेखि भ्रमणमा रहेका विदेशीलाई भोलि जर्मन एम्बेसीसँगको समन्वयमा फर्काइनेछ। बाँकीलाई नेपाल सरकारको निर्देशन अनुसार होटलमा राखिनेछ। पछि उनीहरुको मुलुकबाट पत्राचार भएअनुसार पुनः फर्काइने योजना रहेको छ,’ उनले भने।

मंगलवार र बुधवार डोल्पा, सोलुको कोङदे र नाम्चेबाट एयर डाइनेस्टी र सिम्रिक एयरले १७ जना विदेशीको उद्धार गरेर काठमाडौं ल्याइसकेको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।

सरकारले एकै दिनमा आवश्यक हवाई यातायात परिचालन गरेर उद्धार कार्य अगाडि बढाउँदा संक्रमणको जोखिम न्यून हुने उनले बताए।

‘जहाँ जहाँ जति विदेशी छन् सो अनुसार एकैदिन रोटर विङ र फिक्स विङ परिचालन गरेर उद्धार कार्य अगाडि बढाउँदा संक्रमणको जोखिम न्यून हुने देखिन्छ,’ उनले भने, 'सबै जना आइसोलेसनमा बस्नुपर्ने अवस्था छ। दिन प्रतिदिन संक्रमण देखिन थालिसकेको छ। सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै एकै दिन दुईदिन लगाएर उद्धारको काम सकाउनुपर्ने अवस्था देखिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell