सिओल : गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाललाई तत्काल सहयोग गर्ने भएको छ।
योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजारप्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ। प्रति किट्स बीस हजार कोरियाली वन (दुई हजार रुपैयाँ) पर्ने भएकाले दुई हजार किट्स लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान छ।
यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरे।
'यतिबेला मातृभूमि नेपालले कोरोना भाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरूमा अनुरोध गर्दछु,' उनले भनेका छन्।
उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। किट्समा बिरामीको र्याल राखेर स्क्यान मेसिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ। बिहीवार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गो मार्फत् उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रवार नै नेपाल पुर्याउने तयारी भएको समेत अध्यक्ष सुवेदीले बताए।
दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन्। हालसम्म यहाँ रहेका नेपाली कोरोना सङ्क्रमण हुनबाट सुरक्षित छन्।