PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युरोपको कार्ड हात परेको सात दिनमै कोरोनाले लुट्यो जागिर...



विधुर ढकाल

युरोपको कार्ड हात परेको सात दिनमै कोरोनाले लुट्यो जागिर...

'मैले कार्ड पाएँ नि,' एक साता अगाडिमात्र खुशीको सीमा थिएन उनको। बुटवलदेखि माल्टा सम्म पुगेर बल्ल सुरक्षित महसुस गरेकी थिइन् उनले। फेसबुक म्यासेन्जरबाट उनको खुशी पोखिएको थियो।

'कार्ड लिन जाँदैछु। अलि हतारमा छु,' म्यासेन्जरमा मैले कोभिड-१९ को हाल सोध्दा उनले भनेकी थिइन्, 'त्रास त छ। तर पनि यस विषयमा पछि कुरा गर्छु नि है। कार्ड लिएर काममा पनि जानु छ।'

उनको यो खुशी धेरै दिन टिक्न भने पाएन। यसरी कुरा भएको एक साता पछि उनैले म्यासेन्जरमा भनिन्, 'तनावमा छु यार। अफिसले टर्मिनेट गरिदियो।'

'किन? कोरोनाले हो?'

'हो।'

उनको छोटो जवाफ।

अरु दिन कहिले बिहानै त कहिले सम्साँझै काममा निस्किने उनी अहिले फुर्सदिली छिन्। तर, बुटबलमा रहेको घरमा बताउनसक्ने अवस्था छैन।

'घरतिर चाहिँ नभन्दिनुहोला। मैले भनेकी छैन,' उनको आग्रह थियो, 'अस्ती भर्खरै कार्ड पाएँ भन्दै सुनाउँदा खुशी भएका थिए। आज कसरी टर्मिनेट भएँ भन्नु?'

उनीमात्र होइन, माल्टामा अरु नेपालीहरुको पनि धमाधम जागिर गुम्दै छ। कतिले गुमाइसके।

मध्य माल्टाको सबै भन्दा बढी जनसंख्या भएको शहर हो विर्किर्कारा। छोटकरीमा बि'कारा भनेर चिनिन्छ यस ठाउँलाई। २०१८ को तथ्यांक अनुसार यहाँको जनसंख्या २३ हजार ३४ मात्र। युरोपको सानो देश। ३ सय १६ वर्गकिलोमिटरको देशको जनसंख्या चार लाख ७५ हजारको हाराहारीमा। पछिल्लो समय नेपालीहरुको रोजगारीको गन्तव्यको रुपमा उदाउँदै थियो। २०१६ को तथ्यांकमा नेपाल र माल्टाबीचको व्यापार तीस लाख रुपैयाँको थियो,‍ जुन माल्टाकै पक्षमा थियो।

सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो। बेलायतस्थित नेपाली नियोगले माल्टालाई हेर्दै आएको छ।

हाल त्यहाँ कति नेपाली छन् आधिकारिक तथ्यांक भने छैन।

बुटवलकी ती युवतीसँगै बस्ने पोखरा, चितवन र काठमाडौंका पाँच अरु युवतीहरुले पनि जागिर गुमाएका छन्। बि'काराको टोटल म्यानेजमेन्ट सलुसनमा काम गर्ने उनीसँगै २ सय जनाले जागिर गुमाएका छन्, कोरोनाका कारण। जागिर गुमाउने अधिकांश नेपाली र भारतीय छन्।

'ठ्याक्कै कति नेपाली त भन्न सक्दिन। हामी फरकफरक कम्पनीमा काम गर्छौं। यो एउटा रिक्रुटिङ एजेन्सी जस्तै हो। यस कम्पनीको कन्ट्र्याक्टमा अन्य कम्पनीमा काम गर्न जानुपर्छ,' उनले भनिन्, 'तर धेरै नेपाली र इन्डियन छौं।'

टापु राष्ट्र माल्टा युरोपमा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देश इटालीबाट ८० किलोमिटरको जल यात्राको दुरीमा छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार बुधवार सम्म १२० जनामा कोभिड-१९ को संक्रमण देखिएको छ यहाँ।

सुरुमा इटालीबाट इम्पोर्टेड केसको रुपमा छिरेको कोभिड-१९ को संक्रमण अहिले स्थानीय रुपमा फैलिँदै गएको छ।

माल्टामा कोभिड-१९ को पहिलो केस इटालियन १२ वर्षीया बालिकामा ७ मार्चमा देखा परेको थियो। पछि उनका बाबु आमामा पनि कोभिड १९ को संक्रमण पुष्टि भयो।

त्यहाँको स्थानीय अनलाइन साइटका अनुसारका बुधवार मात्र १९ जनामा कोभिड-१९ को संक्रमण देखा परेको छ। यससँगै यहाँ संक्रमितको संख्या १ सय २९ पुगेको समाचारमा उल्लेख छ।

बुधवारको संक्रमण आउटब्रेक भएसँगैको दैनिक तथ्यांकमा सबैभन्दा बढी हो। बुधवार देखिएका संक्रमित मध्य ८ जना इम्पोर्टेड केस भएको बताइएको छ। चार जना यसअघि संक्रमित पुष्टि भएकासँगको सम्पर्कबाट संक्रमित भएका हुन् भने बाँकी सात जना स्थानीय समुदायबाट संक्रमित भएको बताइएको छ।

माल्टामा रहेका कम्पनीहरुले आफ्ना कामदारलाई सुरक्षाका उपाय अपनाउन भनेको छ। २ सय जना टर्मिनेट गर्ने कम्पनी टोटल सोलुसनले पनि साता अगाडि मात्र सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको थियो। तर, साता नबित्दै २ सय कामदार निकाल्यो।

'अहिले कोठामै दिन बितिरहेको छ। अरु नेपालीहरु त्रासमा छन् जागिर गुम्ने हो कि?,' उनले भनिन्, 'बाहिर निस्किन पनि पाइँदैन। निस्कियो जरिवाना तिर्नुपर्‍यो। जागिरबाट पनि निकालिदियो। न नेपाल नै आउन पाइन्छ।'

नेपाल सरकारले सबै हवाइ उडान प्रतिबन्ध लगाएको छ। माल्टा सरकारले पनि आउजाउलाई कडा बनाएको छ। नियम उल्लंघन गर्नेलाई १० हजार युरोसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ।

(व्यक्तिगत गोपनीयतालाई राख्न उनको नाम सार्वजनिक नगरिएको हो। सं.)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell