PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

कोरोना त्रास: चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही



रासस

कोरोना त्रास: चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही

चितवन: घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ।

कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ। कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो।

बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ। उनले भने, 'कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ। त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ।' अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो।

बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ। कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ। कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ। सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ।

बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell