काठमाडौं : लकडाउनका कारण लुक्ला क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई निशुल्क खाना र बासको व्यवस्था गरिने भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका २ नम्बर वडा कार्यालयले पर्यटकहरुको खानपान र बसोबासको व्यवस्था गर्ने निर्णय गरेको हो। निर्णयसँगै सूचना टाँस गर्दै आजदेखि लागू हुने गरी उनीहरुको गाँसबासको व्यवस्था गरेको जनाएको छ।
होटल एसोसिएसन लुक्लाले निशुल्क रुम तथा वाइफाइ इन्टरनेटको व्यवस्था गर्ने भएको छ भने गाउँपालिकाले ब्रेकफास्ट, लन्च र डिनरको खर्च बेहोर्ने भएको छ। होटल एसोसिएसन र गाउँपालिकाको समन्वयमा यस्तो व्यवस्था गरिएको हो।
गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष आङ फुर्वा शेर्पाका अनुसार लुक्लामा अहिले १ सय ३७ जना अलपत्र परेका छन्। १४ जनालाई भने आज लुक्लाबाट काठमाडौं पठाइएको छ।
'१४ पर्यटक काठमाडौं गए। फ्रेन्च एम्बेसीको पहलमा उनीहरुलाई काठमाडौं लगिएको हो,' शेर्पाले भने। उनीहरुलाई तारा एयरबाट काठमाडौं उतारिएको हो।
'यहाँबाट पठाउन पनि पहल गरिरहेका छौं। त्यो पहलसँगै यहाँ उहाँहरुलाई सुविधा पनि उपलब्ध गराइरहेका छौं,' वडाअध्यक्ष शेर्पाले भने।
उनका अनुसार लुक्लामा अहिले रहेकामध्ये फ्रान्स, रसिया, अस्ट्रेलिया, स्विटजरल्यान्ड, अमेरिका, जापान, नेदरल्यान्ड, पोल्यान्ड, मलेसिया तथा ताइवानका नागरिकहरु छन्। यी सबै दुई दिन अघिमात्रै लुक्ला आइपुगेका हुन्। खुम्बु क्षेत्रमा ट्रेकिङमा जाने यात्रुहरुको सुरुवात र आखिरी बिन्दु लुक्ला हुने गर्छ। यहाँ रहेको विमानस्थलबाट उनीहरु काठमाडौं फर्किने प्रतीक्षामा छन्।
लुक्लामा अहिले ४८ वटा होटलहरु छन्। तीमध्ये २२ वटा होटलमा पर्यटकहरु छन्। 'हामीले उहाँहरुलाई विपत् व्यवस्थापन कोषको रकमबाट राख्ने निर्णय गरेका छौं,' शेर्पाले भने। त्यसका लागि १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुनसक्ने उनीहरुको तयारी छ।
'होटलमा लजिङ र वाइफाइ होटलले नै दिनेछ। बाँकी उहाँहरुको बिल कति उठ्छ त्यो हामीले होटललाई तिर्ने सहमति भएको छ,' उनले भने।